‘वर एण्ड वधु’ टोली मोफसल दाैडमा, सिनेमाले दर्शकको आँखा शित्तल बनाउने आँचलको दाबी
निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘वर एण्ड वधु’ यही भदौ १४ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। रिलिज डेट नजिकिँदै गर्दा निर्माण टिमले देशका विभिन्न क्षेत्रहरूमा पुगेर चलचित्रको प्रचारप्रसार गरिरहेको छ।
प्रचार टुरका क्रममा निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, र नव-नायक विवेक कर्माचार्यले पूर्वका विर्तामोड, धरान, इटहरी, र विराटनगरमा दर्शकसँग भेटघाट गरेका छन्। यस क्रममा उनीहरूले फिल्मबारे दर्शकलाई जानकारी दिँदै चलचित्रको महत्व र विशिष्टता बारे बताए।
सिनेमाका निर्देशक चाम्सले ‘वर एण्ड वधु’ दर्शकले उच्च क्यानभास उत्कृष्ट चलचित्र हेर्न पाउने जानकारी गराए । यो सिनेमाको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनको भनाई थियो । उनका अनुसार, चलचित्रले दर्शकलाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्नेछ।
चलचित्रका अनुभवी कलाकार किरण केसीले ‘वर एण्ड वधु’लाई आफ्नो करियरको एक महत्वपूर्ण मोडको रूपमा लिएका छन्। “मैले काम गरेका सय भन्दा बढी सिनेमामा यो १-२ नम्बरमा पर्छ। हरेक कोणबाट यो सिनेमा उत्कृष्ट छ,” उनले भने।
चलचित्रकी मुख्य नायिका आँचल शर्माले यो सिनेमाले दर्शकको मन जित्ने दाबी गरिन्। उनले भनिन्, “सिनेमामा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा समावेश छ। यसले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेछ।”
साथै, आँचलले यो सिनेमाले दर्शकहरूको आँखा शीतल बनाउने दाबी गर्दै सबैलाई हलमा आएर चलचित्र हेर्न आग्रह गरेकी छिन्।
यस्तै, नव-नायक विवेक कर्माचार्यले ‘वर एण्ड वधु’बाट आफ्नो करियरको नयाँ सुरुवात हुने विश्वास व्यक्त गरे।
निर्मात्री जानुका थापाले चलचित्रको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो चलचित्रको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ ।
मोफसल टुरका क्रममा उत्साहित देखिएको चलचित्रको टिमले विभिन्न कलेजमा पुगेर विद्यार्थी तथा स्थानीयहरूसँग अन्तरक्रिया गरेको थियो। विभिन्न कलेजमा पुगेको सिनेमाको टिमलाई दर्शकले उत्साहजनक रुपमा स्वागत गरेका थिए । अधिकांशले सिनेमाको प्रचार सामाग्री मन परेको भन्दै हलमा गएर सिनेमा हेर्ने बताए ।
प्रचार सामग्री प्रति दर्शकको सकारात्मक प्रतिक्रिया पाएको टिमले चलचित्रले पनि त्यस्तै समर्थन पाउने विश्वास व्यक्त गरेको छ।