४० दिनमा प्याकअप गराए धिरज र उपासनाले ‘खुस्मा’को छायांकन

फिल्म ‘खुस्मा’को छायांकन ४० दिन लगाएर सक्काइएको छ । निर्माण पक्षले बताए अनुसार फिल्मको छायांकन दुइ चरणमा प्याकअप भएको हो ।

फिल्मको पहिलो चरणको छायांकन मनाङमा, दोस्रो चरणकोको छायांकन पूर्वी रुकुम गरिएसँगै एक गीतको छायांकन गर्न बाँकी रहेको बताइएको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको यो फिल्ममा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी मुख्य भूमिका छन् । यसले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथा भन्ने बताइएको छ ।

धिरज र उपासना बाहेक फिल्ममा माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राजा थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । यो फिल्ममा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको लगानी छ ।

फिल्मका सह–निर्माता मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ । फिल्मलाई असोजको ३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षको रहेको छ ।