‘नरसिंहाः अवतार’बाट उठाउन सक्लान राजले करिअर ?

काठमाडाैं । क्रिएटिभ सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को कलाकारहरूको रोचक लाइनअप तयार भएको छ । एक्सन र सोसल ड्रामा विधामा निर्माण हुने यस सिनेमाका लागि ६ जना मुख्य कलाकार चयन भइसकेका छन् ।
निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्ने यो सिनेमामा राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई, र दीपा शाही अनुबन्धित भइसकेका छन् । यसैबीच, नायक राज कटुवाललाई समेत सिनेमामा समावेश गरिएको छ, जसले गर्दा सिनेमाका मुख्य कलाकारहरूको समूह पूरा भएको छ।
कटुवाल हालै मात्र सिनेमामा अनुबन्धित भएका हुन्, र उनको समावेशले सिनेमामा रोचकता थपिएको हो ।
‘नरसिंहाः अवतार’मा कटुवालले महानायक हमालसँग पर्दा शेयर गर्दैछन्, जुन उनका लागि ठूलो अवसर हाे । यद्यपि, यो सिनेमामा उनले निभाउने भूमिकाबारे केही जानकारी दिइएकाे छैन । तर, राजको कडा परिश्रम र समर्पण हेर्दा उनले यसपटक दर्शकलाई सरप्राइज दिने अनुमान लगाउन सकिन्छ ।
राजले यो अवसरको सही सदुपयोग गर्न सके उनको करियर नयाँ दिशातर्फ अगाडि बढ्नेमा शंका छैन । राजलाई यस अवसरमा ठूलो आशा छ, विशेष गरी राजेशसँग पर्दा साझेदारी गर्ने अवसर पाउँदा उनी उत्साहित छन् ।
यता, निर्माण पक्षले यस सिनेमामा अनुबन्धित कलाकारहरूको भूमिकाबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन । तर, निर्देशक भट्टराईले कटुवालको अनुबन्धनले सिनेमामा नयाँ नायकको उदय हुने आशा व्यक्त गरेका छन् । कटुवालले पनि यो सिनेमामा समावेश हुन पाएकोमा अत्यन्त खुशी व्यक्त गर्दै निर्देशकले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
राजेश हमालले यो सिनेमाबाट आफूलाई आठ वर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गराउन लागेका छन्, जसले नेपाली फिल्म क्षेत्रमा उत्साह र प्रतिक्षा बढाएको छ।
यता, यो चलचित्रबाट अभिनेताद्धय सरोज खनाल र राजेश हमाल ३० वर्षपछि पुनः एउटै फिल्ममा सँगै देखिन लागेका छन् । सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’पछि यी दुईले सँगै काम गरेका थिएनन् ।
यसैगरी अर्का अभिनेता प्रशान्त ताम्राकार र निर्देशक भट्टराईको यस अघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’, र ‘मायावी’मा पनि सहकार्य भइसकेको छ ।
फिल्म ‘नरसिंहाः अवतार’को छायांकन यही भदौको अन्तिम साताबाट सुरु गर्ने योजना छ भने यसको कुल लागत तीन करोडभन्दा माथि हुने बताइएको छ ।
अर्कोतर्फ, निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ, र यसको प्रदर्शन मिति केही दिनमै घोषणा गरिने अपेक्षा गरिएको छ ।