‘तेल भिसा’को गीतमा बुलबुल झैं फुटी जाने खुसी

काठमाडौं । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ ।

कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर सुन्न सकिन्छ ।

गीतले खुसीको प्रतिक्षा, प्राप्त खुसी र बुलबुल झैं फुटी जाने खुसी देखाएको छ । साथी, आफन्त, सम्झनाका तरेली र जिन्दगीका गोरेटोको कथा भन्ने प्रयास गरेको छ ।

गीतको लिरिकल भिडियोमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड छन् । लिरिकल भिडियोमा सिनेमाका चलअचल दृश्यहरु समावेश गरिएका छन् ।

सिनेमामा अभिनेता विपीन कार्की दोहोरो भूमिकामा देखिएका छन् । सिनेमामा विपीनको जवान र बृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् ।

‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । आगामी मंसिर ७ गतेबाट सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत छ ।

विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।