कात्तिक १५ रिलिज हुँदै ‘मायावी’

काठमाडौं । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ ।

निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए ।

चलचित्रको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी सिनेमामा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।

पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

राज कटुवाल र चन्द्र पन्त चलचित्रका निर्माता हुन् ।

प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र नमिता झा छन् । सहयोगी निर्मातामा अम्बरीश कश्यप छन् ।

क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।

लाइन प्रोड्युसरमा राजकुमार कार्की छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को चलचित्र ‘एक्टर’ पनि रिलिज हुँदै छ । योसँगै लक्ष्मीपूजाको बक्स अफिस पल शाह भर्सेस प्रदीप खड्का हुने पक्का भएको छ ।