‘साम्बाला’को ट्रेलरमा बहुपति प्रथा

काठमाडौं । लोकार्नो फिल्म फेस्टिभलमा अवार्ड जितेको चलचित्र ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौैंमा मंगलबार कार्यक्रम गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

स्वीटजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेको थियो । ‘साम्बाला’की नायिका थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् ।

विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको चलचित्रको ट्रेलरमा हिमाली भेगमा रहेको ट्रेलरमा बहुपतिप्रथा देखाइएको छ । बेपत्ता श्रीमानलाई खोज्न निस्किएकी श्रीमतीको कथा यो चलचित्रले भन्नेछ ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो सिनेमालाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने वितरकले जनाएको छ ।

१४ करोड लगानीमा निर्माण भएको ‘साम्बाला’ नेपालमा भदौ २८ गते रिलिज हुनेछ । मीन भामको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले ‘कालो पोथी’ निर्देशन गरेका थिए ।