लक्ष्मी पूजाका दिन भिड्दै प्रदीप र पल, कसले भित्र्याउला लक्ष्मी ?

काठमाडौं । नाम चलेका अभिनेताहरूका सिनेमा जुध्नेक्रमले निरन्तरता पाउने पाउने भएको छ । जेठ १० गते अनमोल केसी र प्रदीप खड्काको चलचित्र क्रमशः ‘फर्की फर्की’ र ‘पुजार सार्की’ एकै दिन रिदिज भएका थिए ।
अब दसैं फूलपाती अर्थात् असोज २४ गते दीपकराज गिरी, विराज भट्ट र जितु नेपालका सिनेमा रिलिज हुँदैछन् । दीपकराज गिरीको ‘छक्का पञ्जा–५’, विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको सिनेमा ‘ज्वाइँ साब’ दसैँको बिदाको अवसर पारेर रिलिज हुन लागेका हुन् ।
नाम चलेका कलाकारका सिनेमा एकै दिन जुध्ने क्रम यतिमै नरोकिने भएको छ । तिहारमा पनि अपेक्षा गरिएका कलाकारका चलचित्र जुध्ने भएका छन् ।
तिहारको बिदाको मौका पारेर प्रदीप खड्का र पल शाहका चलचित्र एकै दिन रिलिज हुने भएका छन् । प्रदीपको ‘एक्टर’ र पलको ‘मायावी’ एकै दिन आउन लागेका हुन् ।
कात्तिक १५ गते लक्ष्मी पूजाका दिन यी दुई चलचित्र रिलिज हुने भएका छन् । तिहारको लामो बिदालाई निर्माता तथा निर्देशकले रोज्दा यी दुई चलचित्र आपसमा भिड्न आइपुगेका हुन् ।
‘मायावी’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र हो । यसमा पलसँगै दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला र समिम खान मुख्य भूमिकामा छन् ।
चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायतका अन्य कलाकारको पनि अभिनय छ ।
क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहेको छ । भट्टराईले करिब चार वर्षपछि पुनः चलचित्र निर्देशन गरेका हुन् ।
यो पनि पढ्नुहोस् – सिनेमा जुधाएर निर्मातालाई घर न घाटको नबनाऊ
राजु थापाको डीओपी रहेको चलचित्रमा एसडी योगीको संगीत र राम अविरल विष्टको गीत छ । चलचित्रमा अभिनेता राज कटुवाल निर्माता रहेका छन् ।
प्रदीप खड्का मुख्य भूमिकामा रहेको ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । निर्माता थमन कुमार भण्डारीले निर्माण गरेको चलचित्रमा प्रदीपसँगै दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ ।
दिव्याले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । उनी दिलीप रायमाझकी छोरी हुन् । राजबल्लभ कोइराला यही चलचित्रबाट करिब १० वर्षपछि पुनः पर्दामा देखिनेछन् । प्रदीपले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।
अदृत फिल्मसको प्रस्तुतिमा मोति फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको चलचित्रमा क्रिएटिभ प्रोड्युसर मोति कार्की हुन् । चलचित्र नरेन्द्र मैनालीले खिचेका छन् ।