कात्तिक १५ मा त्रिपक्षीय भिडन्त, प्रदीप, पल र प्रकाशमध्ये कसले तान्लान् दर्शक ?

काठमाडौं । कात्तिक १५ गते तीनवटा नेपाली चलचित्रको भिडन्त हुने भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि कात्तिक १५ लाई रिलिज डेट लक गरेपछि यो मितिमा तीनवटा सिनेमा एकै दिन रिलिज हुने पक्कापक्की भएको हो ।
आज पोस्टर सार्वजनिक गर्दै निर्माण युनिटले एकै कात्तिक १५ रोजेपछि त्रिपक्षीय रोचक भिडन्त हुने भएको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपूतलगायत कलाकार मुख्य भूमिकामा छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् ।
सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।
तिहारको लामो बिदाको छेको पारेर यही मितिमा प्रदीप खड्का र पल शाहका चलचित्रले यसअघि नै आउने घोषणा गरिसकेका छन् । प्रदीपको ‘एक्टर’ र पलको ‘मायावी’ एकै दिन आउन लागेका हुन् ।
कात्तिक १५ गते लक्ष्मी पूजाका दिन यी चलचित्र रिलिज हुने भएका हुन् । तिहारको लामो बिदालाई निर्माता तथा निर्देशकले रोज्दा यी तीन चलचित्र आपसमा भिड्न आइपुगेका हुन् ।
‘मायावी’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र हो । यसमा पलसँगै दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला र समिम खान मुख्य भूमिकामा छन् ।
चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायतका अन्य कलाकारको पनि अभिनय छ ।
क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहेको छ । भट्टराईले करिब चार वर्षपछि पुनः चलचित्र निर्देशन गरेका हुन् ।

प्रदीप खड्का मुख्य भूमिकामा रहेको ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । निर्माता थमन कुमार भण्डारीले निर्माण गरेको चलचित्रमा प्रदीपसँगै दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ ।

दिव्याले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । उनी दिलीप रायमाझकी छोरी हुन् । राजबल्लभ कोइराला यही चलचित्रबाट करिब १० वर्षपछि पुनः पर्दामा देखिनेछन् । प्रदीपले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।
अदृत फिल्मसको प्रस्तुतिमा मोति फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको चलचित्रमा क्रिएटिभ प्रोड्युसर मोति कार्की हुन् । चलचित्र नरेन्द्र मैनालीले खिचेका छन् ।
