नुनको सोझो होइन चलचित्रकर्मीको पक्षमा काम गर

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । भदौ १३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अब उनले दुई वर्ष बोर्डको तालाचावी आफ्नो हातमा लिएर हिँड्नेछन् ।

दरखास्त आह्वान गरेर बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गरे पनि जगजाहेर रहेको कुरा हो, यो राजनीतिक नियुक्ति हो । तालुकवाला मन्त्रालय जसको छ, अथवा प्रधानमन्त्रीको निगाहा जसमा पर्छ उही नै बोर्डको अध्यक्ष बन्ने हो ।

डिसी सत्तारुढ एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष हुन् । उनी प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली निकट हुन् । त्यसैले धेरैले पहिला नै अनुमान गरिसकेका थिए, बोर्डको अध्यक्षमा डिसी नै नियुक्त हुन्छन् भन्ने । नभन्दै भयो पनि त्यही ।

दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

चलचित्र क्षेत्रको सर्वोच्च संस्था भएकाले बोर्डबाट चलचित्रकर्मी र यसका सुवेच्छुकले यसबाट अपेक्षा राख्नु स्वभाविक हो । गर्नुपर्ने काम धेरै छन्, त्यसैले अपेक्षा हुनु अस्वभाविक पनि होइन । चलचित्र क्षेत्रलाई राज्यले उद्योगको मान्यता दिइसकेको छ । तर राज्यको व्यवाहारले आफूहरूले आजसम्म उद्योगको महसुस गर्न नपाएको चलचित्रकर्मीहरूले बताउँदै आएका छन् ।

वाकपटु र कुशल वक्ता दिनेशले पनि सार्वजनिक मञ्चमा यही वाक्य पटकपटक दोहोर्याएका छन् । बोर्डले गर्ने काम धेरै रहेको तर गर्न नसकेको उनले बताउँदै आएका थिए । कुशल नेतृत्व र इच्छाशक्ति हुने हो भने थुप्रै काम गर्न सकिने उनले सार्वजनिक कार्यक्रममा मञ्चबाटै बताउँदै आएका थिए ।

अब यो प्रश्न उनैतर्फ सोजिनेछ । आफूले गरेका माग पूरा गर्ने ठाउँमा डिसी स्वयं पुगेका छन् । त्यसैले अब असन्तुष्टिका आवाज उठाउने होइन माइक अगाडि बसेर आवाजको दुनियाको साथी भनेर बोल्ने उनले अरुका आवाजको सम्बोधन गर्नुपर्नेछ ।

उनी राजनीतिक नियुक्तिबाट बोर्डमा पुगेका छन् । तर अब काम गर्ने हो भने उनले सबैभन्दा पहिला म कुन पार्टीबाट आएँ भनेर बिर्सिनुपर्नेछ । सबैको सल्लाह सुझाव लिएर अगाडि बढ्नुपर्नेछ ।

केही महिनामै बोर्डका सदस्यहरूको कार्यकाल सकिँदैछ । त्यसमा आफू र आफ्नो पार्टीका भन्दा पनि काम गर्नसक्ने व्यक्ति बोर्डमा पठाउन उनले एमाले नेतृत्वलाई भन्नुपर्छ । राम्राभन्दा पनि आफ्नालाई नै ल्याउन उनी स्वयं पनि अग्रसर भए पनि उनलाई काम गर्न कठिन हुने निश्चित छ । दुई वर्ष उनका लागि जागिर खाने थलोबाहेक बोर्ड केही हुनेछैन ।

बोर्डसामु थुप्रै चुनौती छन् । बोर्ड चलचित्रकर्मीहरूको सर्वोच्च संस्था हुँदाहुँदै पनि स्वयं चलचित्रकर्मीहरूले यो खारेज गरिदिए पनि केही फरक पर्दैन भन्दै आएका छन् । होइन बोर्ड आवश्यक छ, र चाहिन्छ भन्ने वातावरण उनले बनाउनुपर्नेछ । यसका लागि काम गरेर बोर्डको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्छ ।

सेन्सर सञ्चार मन्त्रालयले गर्दै आको छ । यसमा सेन्सरको कैंची झनझन तिखो हुँदै गएको निर्माता तथा निर्देशकले बताउँदै आएका छन् । सेन्सरलाई कसरी खुकुलो गर्ने भन्नेतर्फ उनी अग्रसर हुनुपर्नेछ । जुन त्यति सहज छैन । कम्युनिष्ट सरकार सबैभन्दा पहिला मिडिया र चलचित्र क्षेत्रलाई निसाना बनाउँदै आएको छ । यसमा उनले कति अडान लिन सक्लान्, यो हेर्नै बाँकी छ । नुनको गुन तिर्न लाग्छन् कि आफ्नो क्षेत्रको प्रतिरक्षामा उत्रिन्छन्, यो उनको समग्र कार्यकालको मूल्यांकन गर्ने एउटा पक्ष हुनेछ ।

बोर्डलाई कार्यकर्ता भर्तीकेन्द्र नबनाऊ, बनाउने भए बोर्ड नै खारेज गरिदेऊ

कुन चलचित्रले कति कमायो भन्ने हिसाब राख्ने बक्सअफिस सार्वजनिक हुने गरेको छैन । यसलाई सके हरेक महिना होइन भने तीन/तीन महिनामा सार्वजनिक गर्नसके पारदर्शिता थप बढ्नेछ । प्रोपर बक्सअफिस छैन । बक्सअफिसले दिएकोभन्दा वितरकले दिएको हिसाब बढी आउँछ । यसलाई प्रभावकारी बनाउन सक्छन् वा यसलाई नजरअन्दाज गरेर बस्छन्, त्यसले उनको कार्यक्षमता र इच्छाशक्ति देखाउनेछ ।

बोर्डलाई स्वायत्त बनाउँदै राजनीतिक नियुक्ति र कार्यकर्ता भर्तिकेन्द्र बनाउने परिपाटी तत्काल बन्द गरिनुपर्छ । चलचित्र नेपाली कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने राम्रो माध्यम हो भन्ने बुझेर सरकारले बोर्डलाई स्रोतसाधन सम्पन्न गर्दै स्वतन्त्र भएर काम गर्ने वातावरण बनाउनुपर्छ । माटोको सुगन्ध बोकेर बन्ने चलचित्रलाई सहजीकरण गर्नुपर्छ ।

अन्यथा उनको कार्यकाल पनि चलचित्रकर्मीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ सिवाय केही हुने छैन । यसका लागि उनले पहल गर्छन् कि गर्दैनन् र गरे कति सफल हुन्छन् यसले पनि उनको दुईवर्षे कार्यकाल कति सफल र कति असफल हुने मूल्यांकन गर्नेछ ।

यो पनि पढ्नुहोस्

राजनीतिक फण्डाले सिनेमा चल्छ भन्ने भ्रम नपाल

सिनेमा जुधाएर निर्मातालाई घर न घाटको नबनाऊ

मरेपछि होइन व्यक्ति जिउँदो छँदै सम्मान गर्ने संस्कार बसाऊ सरकार

अनमोल कर तिर्ने पहिलो कलाकार हुन् ? हो भने स्यालुट ! होइन भने केको प्रचारबाजी ?

सिनेमा उद्योगकै हुर्मत लिने फेस्टिभल तत्काल बन्द गर

अर्काको हुर्मत लिनुअगाडि आफ्नै अनुहार हेर

बक्सअफिस रिपोर्ट सार्वजनिक गर, बदनाम हुनबाट बच

फुट्ने होइन जुट्ने गर, पैसा कमाउने भए एकै ठाउँ बस

पहिला रिलिज डेट नतोक, चलचित्र बनाऊ