‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले शुक्रबार विहान फर्स्ट लुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरेको हो ।

यो सिनेमा कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुने हुने भएको छ । यो मितिमा ‘एक्टर’ र ‘मायावी’ पनि प्रदर्शन हुँदैछन् ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको संकेत गरिरहेको छ ।

प्रकाश र विजयको खुसीले उनीहरु एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमामा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् ।

यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनरा निर्माण भएको सिनेमाले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

शिवराम श्रेष्ठ छायाँकार रहेको यो सिनेमालाई सेभेन सिज इन्टरटेनमेन्टले नै विश्वभर प्रदर्शन गराउने भएको छ ।