‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कभर भिडियो स्किम : उत्कृष्ट भिडियो सिनेमामै समावेश

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रचारका लागि निर्माण पक्षले नयाँ स्किम अघि सारेको छ । रिलिज डेट नजिकिँदै गर्दा निर्माणपक्षले कभर भिडियो प्रतिस्पर्धाको कन्सेप्ट अगाडि सारेको हो ।
गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो प्रतिस्पर्धा गर्न लागेको निर्माणपक्षले उत्कृष्ट एक भिडियोलाई सिनेमामा समावेश गर्ने जनाएको छ ।
‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्ने बताइएको छ ।
भिडियो एचडी क्वालिटीको हुनुपर्ने, भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षलाई पठाउनुपर्ने र कभर भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्ने निर्माणपक्षले जनाएको छ ।
‘छड्के सलाम’ बोलको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुसाल, सिरु विष्ट, विजय बराललगायत अन्य कलाकार छन् ।
चलचित्रमा निश्चल, स्वस्तिमा, बसुन्धरा र विजयसँगै सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
चलचित्र दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यु निर्देशकीय चलचित्र हो ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।