‘देवी’को मर्मस्पर्शी गीत ‘सेलाइ देउ खोलामा’

हरितालिका तीजको अवसर पारेर यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ ।

सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर रहेको सिनेमाको सार्वजनिक गीतमा सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना छ । यस्तै, गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर समेत सुन्न सकिन्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् । गीतले महिलालाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारप्रति प्रश्न गर्छ ।

निर्देशक सञ्जोग राई निर्देशन गरेको सिनेमा अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भुमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको ‘देवी’लाई प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

जोएल फ्रोमको डिओपी रहेको सिनेमाको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

सिनेमाको यसअघि सार्वजनिक टिजर, ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।