रामबाबु र उपेन्द्रको जस्तै सन्तोष र प्रदीपको हालत नहोस् !

नेपाली चलचित्र उद्योगमा जब-जब भइरहेको सम्बन्धमा चलचित्रकर्मीहरूबीच दरार आउँछ । अनि सुरु हुन्छ- ओरालो यात्रा । चलिरहेका चलचित्र चल्न छोड्छन् । आशा गरिएका चलचित्र चल्दैनन् । चल्छन् भनेर अपेक्षा गरिएको चलचित्रले नै धोका दिन्छन् ।

यसको पछिल्लो उदाहरणका रूपमा चलचित्र ‘डिग्री माइला’ र ‘मनसरा’लाई लिन सकिन्छ । राम्रो हाइप बनाएका र अपेक्षा पनि गरिएको यी चलचित्र अपेक्षित रूपमा चलेनन् । यी दुवै चलचित्र एउटा टिम फुटेर बनाएका चलचित्र थिए ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बा दुवै एउटै टिममा रहुन्जेल उनीहरूका चलचित्रले रेकर्ड ब्रेकिङ कलेक्सन गरेका थिए । जब उनीहरू फुटे र आफैँ आफैँ चलचित्र बनाए उनीहरूका चलचित्र चलेनन् । रामबाबु र उपेन्द्र एउटै टिममा हुँदा बनेका उनीहरूका चलचित्र ‘कबड्डी’ सिरिज र ‘जारी’ चले । रेकर्ड ब्रेक गर्दै कमाइ गरे ।

रामबाबुले निर्देशन गरेको ‘कबड्डी ४ फाइनल म्याच’ अहिलेसम्मकै नेपाली चलचित्रको इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रमा पर्छ । रामबाबुले निर्देशन गरेको यो चलचित्रको स्क्रिप्ट उपेन्द्रले लेखेका थिए । ‘कबड्डी’ सिरिजका सबै चलचित्रको कथा उपेन्द्रले नै लेखेका थिए । तर रामबाबुले पनि लेखनमा सहकार्य भने गर्दै आएका थिए ।

रामबाबु र उपेन्द्र सँगै एउटै टिममै रहँदै उपेन्द्रले चलचित्र ‘जारी’ निर्देशन गरे । यसको निर्मातामा रामबाबु गुरुङ थिए । ब्यानर ‘कबड्डी’ निर्माण भएकै थियो । चलचित्र अपेक्षा गरेभन्दा पनि धेरै चल्यो । ब्लकबस्टर भयो । गत वर्षको सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो । डेब्यु निर्देशनमै उपेन्द्रको चलचित्र ब्लकबस्टर भए ।

तर जब उपेन्द्र र रामबाबुको टिम फुट्यो । आ–आफ्नै ब्यानर बनाए । रामबाबुको बाँसुरी फिल्म्स र उपेन्द्रको कबड्डी फिल्म्स । टिम फुटेपछि रामबाबुले ‘डिग्री माइला’ बनाए । टिजर र ट्रेलरले राम्रो हाइप बनाएको थियो । तर चलचित्रले अपेक्षा गरेअनुसार चलेन । समीक्षा पनि राम्रो पाउन सकेन । ‘डिग्री माइला’ रिलिज भएको केही समयपछि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमा ‘मनसरा’ रिलिज भयो । तर यसले पनि अपेक्षा गरेअनुसार न दर्शक बटुल्न सक्यो न समीक्षा नै राम्रो पाउन सक्यो ।

अहिले यी दुवै टिम पछुतोमा रहेको बुझ्न सकिन्छ । अब सँगै चलचित्र बनाउनु पर्ने रहेछ भन्ने मनस्थितिमा रामबाबु र उपेन्द्र रहेको उनीहरू निकट स्रोतले बताएको छ । किन रामबाबु र उपेन्द्र फुटे । उनीहरू निकट स्रोतका अनुसार आर्थिक कारोबारमा चित्त नबुझेर हो । यसको पाटोको सुरुवात ‘जारी’बाट प्राप्त भएको कमाइको हिसाब मिलान गर्न नसक्दा भएको बताइन्छ । भलै यसलाई उनीहरू स्वयंले भने यसलाई स्वीकार गरेका छैनन् । उनीहरू बोल्दा र भन्ने गर्दा हामीबीच त्यस्तो कुनै खटपट छैन भन्ने गरेका छन्, भने सरसल्लाह मै आत्मनिर्भर भएर काम गर्ने थालेको बताउँछन् । विशेषगरी मिडियाले सोधेका प्रश्नमा यस कुरालाई रामबाबुले जवाफ दिने गरेकाछन् ।

रामबाबु र उपेन्द्रको टिम फुट्दा ठूलो आर्थिक घाटा ब्यहोरिरहेका बेला लामो समय सहकार्य गरेका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काको सम्बन्ध पनि चिसिएको छ । सम्बन्ध चिसिएन मात्रै उनीहरू अहिले अलग–अलग भइसकेका छन् । आफ्ना चलचित्रमा सन्तोषले प्रदीपलाई लिने गरेका थिए । उनकै ब्यानरबाट प्रदीपको अभिनय करिअर चम्किएको थियो । ‘प्रेमगीत’बाट आफूलाई प्रदीपले स्टार अभिनेता बनाए । अनि सन्तोषले सफल निर्माता र निर्देशक ।

तर अहिले उनीहरू अलगअलग भइसकेका छन् । सन्तोषले मेघा प्रोजेक्ट भनेको ‘बलिदान’मा सन्तोषले प्रदीपलाई लिएनन् । उनले विराज भट्टका छोरा समीर भट्ट र सौगात मल्ललाई लिए । त्यसपछि प्रदीपले पनि भटाभट सिनेमा साइन गरे । उनीसँग अहिले आधा दर्जन सिनेमा हातमा छन् ।

सन्तोषले ‘बलिदान’का लागि एकातिर प्रदीपलाई आश्वासन दिइरहेका थिए भने भित्रभित्रै उनी अनमोल केसीलाई पनि उक्त चलचित्रको कथा सुनाइरहेका थिए । आफूलाई थाहै नदिई भित्रभित्रै अनमोललाई कथा सुनाएर अनुबन्ध गराउने योजनामा सन्तोष रहेपछि प्रदीप र उनको सम्बन्ध चिसिएको थियो । प्रदीप आफ्ना निकटस्थहरूसँग आफूसँग सल्लाह गरेरै सन्तोषले अनमोललाई ‘बलिदान’मा लिन चाहेको बताएको भए आफूलाई कुनै चित्त दुखाई नहुने तर थाहै नदिई बाहिर आफूसँग एउटा कुरा गर्ने तर भित्रभित्रै अर्कै योजना बनाएपछि आफ्नो चित्त दुखेको बताउने गरेका छन् ।

प्रदीप र सन्तोषकै सहकार्यमा उनीहरू दुवै नेपाली चलचित्र जगतमा स्थापित भएका हुन् । यिनीहरू दुवैको मिहिनेत र प्रयासले ‘प्रेम गीत’ पहिलो पटक बलिउडसम्म पुगेको थियो । तर अहिले उनीहरू एक्ला एक्लै हिँडेका छन् । उनीहरूले छुट्टाछुट्टै काम गरेका सिनेमा कस्ता हुने हुन् त्यो त हेर्न बाँकी नै छ । तर वर्षौं सँगै काम गरेको टिम र नयाँ टिमसँग काम गर्दा फरक त पक्कै पर्ला । जे होस् प्रदीप र सन्तोष पनि रामबाबु र उपेन्द्रकै अवस्थामा नपुगुन्, किन अलग-अलग भइएछ भनेर पछुताउने अवस्थामा नपुगुन् । तर फुटेर एक्ला-एक्लै बनाएका चलचित्र सफल भएका छैनन् । एउटै टिममा दीपकराज गिरी र दीपाश्रीको समूहमा रहेका सिताराम कट्टेल र शिवहरि पौडेलले क्रमशः ‘सेन्टीभाइरस’ र ‘लक्का जवान’ बनाए । तर यी दुवै चलचित्र सफल भएनन् । त्यसैले फुटेर होइन जुटेर अगाडि बढ्दा नै सफल भएको निकट विगत छ । यसलाई नजरअन्दाज गरेका सन्तोष र प्रदीपका सन्दर्भमा भने विगतको नजिर स्थापित नहोस्, भन्नबाहेक यहाँ केही गर्न सकिन्न ।