‘खुस्मा’को गीत ट्रेन्डिङमा आउँदा चलचित्र हिट हुन्छ ?
काठमाडाैं । चलचित्र ‘खुस्मा’ संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउन तयारीमा छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् ।
निर्देशक थापा मगरले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरे पनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौवटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित यो सिनेमाले दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा अंकुराएको प्रेम कथा भन्छ । सिनेमामा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीले प्रेमी-प्रेमिकाको भूमिका निर्वाह गरेका छन् ।
यो सिनेमाका हालसम्म प्रचार सामग्री स्वरूप दुईवटा गीत र टिजर मात्रै सार्वजनिक भएका छन् । यी प्रचार सामग्रीले दर्शकले रुचाउनुका साथै प्रशंसा गरिरहेका निर्माणपक्षले बताएकाे छ ।
सिनेमाको दुई गीतमध्य ‘खुसीका पल बटुलेर’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । करिब एक ममिनाअघि सार्वजनिक गरिएको यो गीतलाई अहिलेसम्म २० लाख ५४ हजार भन्दा बढीले हेरिसकेका छन् ।
प्रेमिल गीत ‘खुसीका पल बटुलेर’मा योगी र विज्ञानी पराजुलीको युगल स्वर छ । यस गीतलाई राम अविरल विष्टले लेखेका हुन् । पूर्वीरुकुमका सुन्दर दृश्य कैद गरिएको गीतको भिडियोमा सिनेमाका शीर्ष कलाकार धीरज र उपासनाको रोमान्स देखाइएको छ।
निर्माण पक्षले पहिलो गीतपछि करिब तीन महिना अघि टिजर सार्वजनिक गरेको थियो । प्रेम सम्बन्ध र सशस्त्र द्वन्द्वले गाउँमा पारेको प्रभाव चित्रण गरिएको टिजरलाई दर्शकले रुचाएका छन् । यो टिजरलाई हालसम्म चार लाख ७२ भन्दा बढीले हेरिसकेका छन् ।
यसपछि सार्वजनिक भएको ‘रुकुम मैकोट’ बोलको गीत युट्युब ट्रेन्डिङमा परेको छ । गत आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको यो गीत एक साताको अन्तरालमा युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनअर्न्तगत नम्बर १ मा आउन सफल भएको छ । गीतलाई आइतबार बिहानसम्म ९ लाख २७ हजार पाँच सयभन्दा बढीले हेरिसकेका छन् ।
एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीत ‘रुकुम मैकोट’मा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ ।
यो गीत युट्युब ट्रेन्डिङ आएसँगै अधिकांश दर्शकले उत्कृष्ट भनेका छन् । गीत हेर्ने धेरै दर्शकले धिरज र उपासनाको केमेष्ट्री गजव देखिएको बताएका छन् । चलचित्रको गीत लामो समयपछि एक नम्बर ट्रेन्डिङमा आएको हो । यसले चलचित्रको हाइप केही हदसम्म भए पनि बढाउन सहयोग गरेको छ । गीत मन पराइएको केही चलचित्र राम्रोसँग चलेका उदाहरण पनि छन् । यसले पनि निर्माण पक्षले दर्शकले चलचित्र मन पराउने अपेक्षा गरेको छ ।
सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर हुन्, सिनेमाको सह-निर्माता सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।