‘छक्का पञ्जा’कै टोन देखिएन र ‘ज्वाइँ साब’काे पाेस्टर र टिजरमा ?

काठमाडौं । ‘छक्का पञ्जा–५’लाई टक्कर दिन असोज २४ गते नै रिलिज डेट लिएको चलचित्र हो ‘ज्वाइँ साब’ । यसको मुख्य भूमिकामा जितु नेपाल छन् ।

‘छक्का पञ्जा–५’मा भने दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी छन् । केही वर्ष अगाडिसम्म जितु पनि दीपककै टिममा थिए । ‘छक्का पञ्जा–३’सम्म जितु पनि यही टिममा थिए ।

विभिध कारणले यो टिमबाट अलग भएका जितु अहिले एक्लै चलचित्रमा अभिनय गर्दै आएका छन् । सुखद संयोग वा क्षमता जे भनौँ उनले चलचित्रमा प्रमुख भूमिकामा काम गर्ने मौका पाउँदै आएका छन् ।

रिलिजमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’मा जस्तै ‘ह्यारी कि प्यारी’मा पनि जितु मुख्य भूमिकामा थिए ।

अहिले दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा–५’ लाग्ने डेटमै जुध्न जितुको सिनेमा आइपुगेको छ । जितुको सिनेमाको टिजर पनि सार्वजनिक भइसकेको छ ।

‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा–५’को पोस्ट पनि करिब उस्तै छ । डिजाइन उस्तै छ भनेर क्लेम गर्न मिल्ने त होइन । तर विवाहको सेटअपमा पोस्टर तयार छ । ‘छक्का पञ्जा–५’को पोस्टरमा दीपक दुलाह छन् । ‘ज्वाइँ साब’मा जितु दुलाहा छन् ।

‘छक्का पञ्जा’ सिरिजमा दीपक राजाको क्यारेक्टरमा हुन्छन् । बाइकमा उनको फिल्मी स्टाइलको इन्ट्री हुन्छ । यता ‘ज्वाइँ साब’को टिजरमा ‘राजाको रानी’ भन्दै हात्तीको प्रयोग गरिएको छ ।

जसरी ‘छक्का पञ्जा’ सिरिजमा दीपक (राजा)को प्रवेशमा सिरिजमा सिग्नेचर ट्युन प्रयोग हुन्छ । करिब करिब त्यस्तै सिग्नेचर ट्युन ‘ज्वाइँ साब’मा प्रयोग गर्न खोजिएको जस्तो लाग्छ ।

डाइलग पनि करिब करिब उस्तैउस्तै र कमेडी पनि उस्तैउस्तै देखिएको छ, टिजरमा ।

सिनेमा रिलिज पछि त ट्रिटमेन्टमा ‘छक्का पञ्जा’को कपी गर्न खोजिएको हो वा पूरै भिन्न नै आउँछ थाहा भइहाल्छ । तर त्यसभन्दा अगाडि आउने ट्रेलरले पनि सम्भवत धेरै कुरा संकेत गर्नेछ । त्यसपछि थाहा हुनेछ साँच्चै ‘ज्वाइँ साब’ आसोज २४ मा ‘छक्का पञ्जा–५’ सँग भिड्न जानी जानी प्रि–प्लानअनुसार नै आएको हो वा संयोग मात्रै हो ।

तर, भुल्नै नहुने कुरा चाहिँ के हो भने ‘लुट’ आएपछि त्यस्तै सिनेमा बनाउँदा चल्ने रहेछन् भनेर दर्जनौँ चलचित्र बने । ‘छक्का पञ्जा’ लोभलाग्दो ब्यापार गरेपछि त्यस्तै चलचित्र दर्जनौं बने । तर चलेनन् ।

यसले के प्रष्ट पारेको छ भने इर्श्या र नक्कल गरेर बनाएका सिनेमा चल्दैनन् । सिनेमा चल्न त्यसमा गुदी चाहिन्छ । कथावाचनको शैली आफ्नै चाहिन्छ ।

यता यही मितिमा अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’ पनि प्रदर्शन हुँदै छ ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’का कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।

सिनेमामा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरेको मुख्य भूमिका छ । सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि अभिनेता तेज गिरी र आर्यन सिग्देलको पनि ‘छक्का पञ्जा ५’मा अभिनयको खुलिसकेको छ ।

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले लेखेका हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गर्दैछन् ।

राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘ज्वाइँ साब’को शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । नायिकामा अभिनेत्री नीति शाहले साथ दिएकी छन् ।

वसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।