‘पूर्ण बहादुरको सारङ्गी’को टिजरमा संघर्ष र उपलब्धी

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।

टिजरमा गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा समेटिएको छ ।

वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ ।

प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ । त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन् । आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको सम्झिन्छिन् ।

प्रकाशले सहरबाट फर्किएपछि बुवाले छोडेर गएर सारङ्गी जतनले खोल्दै बुवाले काँधमा बोकेर हिँड्ने गरेको सम्झिन्छन् । अरुको अगाडि शीर झुकाउनु नपर्नेगरी पढाउने बुवाले गरेको प्रतिबद्धतासँगै टिजर सकिन्छ ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धी समेटेको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिक लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।