कस्तो छ ‘वर एन्ड वधु’को व्यापार ?
मिलन चाम्सको निर्देशनमा निदर्माण भएको चलचित्र ‘वर एन्ड वधु’ले प्रदर्शन थालेको आईतबार तेस्रो दिन पुरा भएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले आईतबार तेस्रो दिन पुरा गर्दा यो सिनेमाको प्रदर्शनको पहिलो दिन बिहानी शो अपेक्षाकृत भएन । दोस्रो दिन शनिबार विभिन्न स्थानहरूमा दर्शकहरूको उपस्थिति औसतभन्दा राम्रो रहेको निर्माण पक्षको भनाइ छ । यता सिनेमाको व्यापार राम्रो भइरहेको निर्माण टिमले हालसम्म पनि बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन ।
शनिबारको विदामा सिनेमाले काठमाडौं उपत्यकाभित्र केही शोहरू हाउसफुल गर्न सफल भएको छ। व्यापारिक दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिने शनिबार, उपत्यकाका विभिन्न हलहरूमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। यसले चलचित्रको सकारात्मक वर्ड-अफ-माउथ प्रचारमा योगदान पुर्याएको छ।
दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएसँगै चलचित्रका मुख्य कलाकार शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए ।
हलमा दर्शकले देखाएको मायाले नायिका आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्, ‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ, यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’
यता, नायक विवेक कर्माचार्यले पहिले चलचित्रमै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाई छ ।
निर्देशक चाम्सले चलचित्रको सिरिज बनाउने संकेत गरे । आगामी दिनमा चलचित्र हेर्ने दर्शकको फ्लो राम्रो भएको खण्डमा सिनेमाको अर्को भाग बन्न सक्ने उनको भनाई थियो ।
चलचित्रको कथावस्तु, यसको दृश्य, कलाकारहरुको अभिनय र कमेडी पाटोलाई हेरेका अधिकांश दर्शकले सिनेमामा रहेको एक संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको पाइयो । अधिकांश दर्शक ‘पानी खानु हुन्छ’ भन्दै हलबाट निस्किएका थिए ।
चलचित्रमा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरुको अभिनय छ ।
एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । प्रदीप भारद्वाजले लेखेको यस सिनेमालाई सुदिप बरालले खिचेका हुन् ।