गम्भीर विषयका चलचित्र कमर्सियल हुँदैनन् भन्ने गलत भाष्य स्थापित नगर
सिनेमा उद्योगमा प्राय चलचित्रलाई दुई भागमा बाँडेर हेर्ने गरिन्छ । पहिलो, कमर्सियल चलचित्र । दोस्रो ननकमर्सियल चलचित्र । बजारमा कस्ता सिनेमा चलिरहेका छन् त्यस्तै एलिमेन्टस राखेर बनाइने चलचित्र कमर्सियल चलचित्र हुन् । तर कस्तो सिनेमाले राम्रो व्यापार गरिरहेका छन् भन्दा पनि आफूलाई मन लागेको कथा भन्ने इन्डिपेन्डेन्ट सिनेमालाई ननकमर्सियल भन्ने गरिएको छ ।
नेपाल र भारतको सन्दर्भमा चारवटा गीत र तीनवटा फाइट राखेर बजारमा स्टारडम भएका कलाकार लिएर बनाइने चलचित्र कमर्सियल चलचित्र हुन् । यसको ठिक विपरीत इन्डिपेन्डेन्ट रूपमा बनाइएका विषयप्रधान सिनेमा जसमा स्टारडम भएकै कलाकार मुख्य भूमिकामा हुन्छन् भन्ने हुँदैन ।
नेपालका सन्दर्भमा धेरैको बुझाई के हो भने ‘छक्का पञ्जा’ कमर्सियल सिनेमा हो । केही समय अगाडि रिलिज भएको ‘द रेड सुटकेस’ ननकमर्सियल सिनेमा हो ।
तर, यथार्थमा भन्ने हो भने यो आम बुझाइ मात्र हो । जुन अवधारणा गलत छ । त्यही सिनेमा कमर्सियल हो जसले बक्सअफिसमा राम्रो कमाइ गर्छ, त्यही चलचित्र कमर्सियल हो ।
गीत, फाइट, स्टारडम भएका कलाकार हुन् वा नहुन्, विषयप्रधान होस् वा लार्जर देन लाइफ यी मध्य जसले बक्सअफिसमा तुलनात्मक रूपमा बढी कमाइ गर्छन् तिनै कमर्सियल सिनेमा हुन् ।
चलचित्र ‘लुट’ बन्दा त्यो आफैँमा त्यस समयका लागि ननकमर्सियल थियो । यसका निर्माता पनि नयाँ भएको खण्डमा वितरक र सिनेमा हलले चलचित्र रिलिज नै गर्दैनन् भनेर परिचित अनुहारलाई निर्माता बनाइएको थियो ।
तर, त्यही सिनेमा ब्लकबस्टर हिट भयो । बक्सअफिसमा सोचेभन्दा धेरै कमाई गर्यो । त्यसपछि त्यस्तै चलचित्र बन्न थाले । छवि ओझा, दीपक श्रेष्ठ, शिव रेग्मी लगायतले बनाउँदै आएका जस्ता चलचित्र कम बन्न थाले । छवि ओझा लगायतको प्यार्टनमा सिनेमा बनाउने निर्माता तथा निर्देशक नै करिब करिब पलायन हुन पुगे । लार्जर देन लाइफ सिनेमाका हिरो÷हिरोइन अधिकांश पलायन भए । जसले अहिलेसम्म कमब्याक गर्न सकेका छैनन् । एकाधले यो प्रयास गरे पनि असफल भए । ‘महानायक’ भनिने राजेश हमालका सिनेमा पनि ओझेलमा परे ।
‘लुट’ प्यार्टनका सिनेमा बन्न थाले । क्यारेक्टर आर्टिस्ट नै चलचित्रका मुख्य भूमिकामा काम गर्न थाले । उनीहरूले नै चलचित्रमा हिरोको स्थान लिन थाले । तुलनात्मक रूपमा लार्जर देन लाइफभन्दा कन्टेन ओरियन्टेड सिनेमा चल्न थाले । बक्सअफिसमा यी सिनेमाको कलेक्सन धेरै देखिन थाल्यो ।
‘लुट’ रिलिजको एक दशक पनि बित्न नपाउँदै पहिला फरक धार भनिएका सिनेमा मूल धारका सिनेमामा रूपान्तरण भए । पहिलाको मूल धार भनिने सिनेमा चाहिँ अहिले फरक धारजस्तो हुन पुगेको छ ।
यसले पनि जुन सिनेमाले राम्रो व्यापार गर्छ त्यही नै कमर्सियल चलचित्र हो भन्ने प्रष्ट हुन्छ । त्यसो त कतिपय निर्देशक तथा निर्मातामै पनि गलत बुझाइ छ । राम्रो कथा उठान गर्ने चलचित्रले राम्रो व्यापार गर्दैन भन्ने भ्रम छ । बक्सअफिसमा राम्रो कलेक्सन गर्न लार्जर देन लाइफ सिनेमा नै हुनुपर्छ भन्ने गलत बुझाइ छ ।
चलचित्र सिनेम्याटिक हुनै पर्छ, चाहे त्यो लार्जर देन लाइफ होस् वा कन्टेन ओरियन्टेड । गम्भीर विषय उठान गरेका चलचित्र चल्दैनन् भन्ने जबरजस्त भाष्य स्थापित भएको छ । जुन भाष्य गलत रहेको नेपाली सिनेमाले नै चिरिसकेका छन् । तर पनि कति निर्देशक तथा निर्माता स्थापित गलत भाष्यको पछाडि दौडिरहेका छन् ।
यो भ्रमका पछाडि दौडिदा समाजका गम्भीर विषय चलचित्रमा उठान हुनबाट बञ्चित भइरहेको मात्रै होइन चलचित्रको गुणस्तरले पनि फड्को मार्न सकेको छैन । परिणाम, चलचित्रको विश्वमानचित्रमा नेपाली चलचित्र कहाँ छ भनेर खोज्दा भेटिने अवस्था छैन ।
यसअघि प्रकाशित सम्पादकीय :–
नुनको सोझो होइन चलचित्रकर्मीको पक्षमा काम गर
राजनीतिक फण्डाले सिनेमा चल्छ भन्ने भ्रम नपाल
सिनेमा जुधाएर निर्मातालाई घर न घाटको नबनाऊ
मरेपछि होइन व्यक्ति जिउँदो छँदै सम्मान गर्ने संस्कार बसाऊ सरकार
अनमोल कर तिर्ने पहिलो कलाकार हुन् ? हो भने स्यालुट ! होइन भने केको प्रचारबाजी ?
सिनेमा उद्योगकै हुर्मत लिने फेस्टिभल तत्काल बन्द गर
अर्काको हुर्मत लिनुअगाडि आफ्नै अनुहार हेर
बक्सअफिस रिपोर्ट सार्वजनिक गर, बदनाम हुनबाट बच
फुट्ने होइन जुट्ने गर, पैसा कमाउने भए एकै ठाउँ बस
पहिला रिलिज डेट नतोक, चलचित्र बनाऊ