karsang
Close Me

‘जागिर खान आएको होइन काम गरेर देखाउँछु’

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डमा आफूँ जागिर खान नभएर काम गर्न आएको बताएका छन् । सोमबार अध्यक्षको पदभार ग्रहण गर्दै उनले सरोकारवाला पक्षसँग सल्लाह गरेर काम गर्ने बताए ।

“म बोर्डमा जागिर खान होइन काम गर्न आएको हुँ,” उनले भने, “अबको सात दिन विकास बोर्डबारे पूर्वसञ्चारमन्त्री, पूर्वसचिव, पूर्वसदस्यसचिव, बोर्डका पूर्वअध्यक्ष, सदस्य, चलतित्र निर्माता तथा निर्देशकसँग भेटेर एक हप्ता अध्ययन गरेर त्यसपछि काम सुरु गर्छु ।

उनले आफूलाई नियुक्ति दिने र सिफारिस गर्ने संस्थाको एजेण्डा कार्यान्वयनको प्रक्रियामा नेपाली चलचित्रको हित र प्रवर्द्धनमा सम्झौता गर्नेगरी काम नगर्ने प्रष्ट पारे ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । डिसीले आज पदभार ग्रहण गर्दै पहिलो कार्यस्वरुप एक सिनेमाको निर्माण इजाजतपत्रमा हस्ताक्षर गरे । पदभार ग्रहण समारोहमा उनले बोर्डका कर्मचारीलाई केही निर्देशन समेत दिए ।

“हामी व्यक्तिगत रुपमा काम त गरिरहेका छौं । तर एक हुन सकेका छैनौं । सवैलाई एकता गराउने काम बोर्डको हो । अब बोर्डले त्यो गर्छ,” उनले भने ।

बोर्ड कार्यालयमा पुग्दा उनलाई बोर्डका कर्मचारी र ठूलो संख्यामा सिनेमाकर्मीले स्वागत गरेका थिए ।