‘दुखी आत्मा’मा दयाहाङ र आँचलपछि अनुपविक्रमको प्रवेश
नेपाली चलचित्र ‘दुखी आत्मा’ भदौ अन्तिम साताबाट छायांकनमा जान तयारीमा रहेको छ। यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई प्रमुख भूमिकामा अनुबन्धित गरिएको यस सिनेमामा अब अभिनेता अनुपविक्रम शाही पनि जोडिएका छन्।
यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । सिनेमामा अनुपविक्रम को कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि कथा अनुसारको चरित्र चयन गर्ने क्रममा फिट हुने भएकाले उनलाई शीर्ष भूमिकामा समावेश गरेको निर्देशक लामाले जानकारी दिए।
सोसियल कमेडी जनरामा आधारित रहने चलचित्र काठमाडौंकै सेरोफेरोमा छायांकन गरिने बताइएको छ।
फिल्म ‘दुखी आत्मा’ क्लक वर्क क्रिएसन्सको ब्यानरमा निर्माण हुनेछ, जसका निर्माता हिमाल कडरिया हुन्। फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन्। यसअघि निर्देशक दीपेन्द्र र निर्माता हिमालले ‘नाङ्गो गाउँ’ सहकार्य गरेका थिए । जुन बक्स अफिसमा सुपरहिट भएको थियो, जसपछि यो जोडीको दोश्रो सहकार्यको रूपमा ‘दुखी आत्मा’ गर्न लागेका छन्।
दयाहाङ र अनुपविक्रम यसअघि चलचित्र ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’मा सँगै देखिएका थिए, र अब ‘दुखी आत्मा’मा पुनः उनीहरूलाई सँगै देख्न लागेका हुन्।
चलचित्रमा दयाहाङ, आँचल, अनुपविक्रमसँगै बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निम पाण्डे, इंगीहोपो कोइच सुनुवार, र यासेली योङहाङ लगायतका कलाकारले अभिनय रहेने छ।
चलचित्रका गीतहरूमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहनेछ। प्रोडक्शन म्यानेजरको रूपमा सुदीप ढकाल रहेका यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।