karsang
Close Me

‘देवी’ले समाजमा प्रश्न उठाउँछ

हरितालिका तीजको अवसर पारेर यही शुक्रबारदेखि निर्देशक सञ्जोग राई निर्देशन गरेको चलचित्र ‘देवी’ प्रदर्शनमा आउन लागेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमामा अभिनेत्री शिल्पा मास्के, अभिनेताद्वय नाजिर हुसेन र गौरव पहारीको मुख्य भुमिका रहेको छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमामा उनीहरुका अलावा टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सिनेमाको यसअघि सार्वजनिक टिजर, ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

शिल्पा सिनेमाको अभिनेत्री मात्रै नभई सह-निर्मात्री समेत हुन् । अभिनेत्रीसँगै आफै निर्माणमा रुपमा जोडिएकी उनै शिल्पासँग चलचित्रका विषयमा रहेर जिज्ञासा र छोटो कुराकानी गरिएको छ ।

अभिनेत्री शिल्पा मास्केसँग गरिएको कुराकानीको सम्पादित अंश :

नायिकाको नजरबाट हेर्दा ‘देवी’ कस्तो चलचित्र हो ?

चलचित्र देवीले मनोरञ्जन मात्र दिँदैन । यसले महिलाको शक्ति र सम्मानको मुद्दालाई उठाउँछ ।

कन्टेन हेर्दा निर्मला पन्तको विषय उठान गरेजस्तो देखिन्छ, सुरुमा यो विषय उठान गर्ने चलचित्रको केन्द्रीय चरित्रका लागि अफर आउँदा विषयवस्तुलाई लिएर मनमा के कुरा उठेको थियो ?

निर्मला पन्तको कथामा मात्रै चलचित्र केन्द्रित छैन । यो चलचित्र निर्मलाको जस्तै घटना भोग्न बाध्य महिलाको कथा हो । महिलाहरू बलाकृत हुनुहुन्छ, तर यहाँहरु आवाज उठाउन सकिरहनु भएको छैन । सीमान्तकृत महिलाहको कथामा आधारित चलचित्र हो यो ।

मलाई स्क्रिप्ट आउँदा सेकेन्ड ड्राफ्ट मात्रै थियो । स्कृप्ट पढ्दा मलाई एकदमै जिज्ञासा पलाएको थियो । चलचित्रलाई हामीले जसरी पनि राम्रो देखाउनु पर्छ, सिनेमा भएपछि ड्रामा पनि हुनुपर्छ ।

मनोरञ्जनात्मक पनि हुनुपर्छ । चलचित्रले दर्शकलाई ग्रिप पनि गर्नुपर्छ । चलचित्रमा सामाजिक सन्देश पनि छ । मनोरञ्जनसँगै सन्देश कसरी दिने त्यो स्क्रिप्टमा थियो ।

महिलाको कथा थियो । तर निर्देशक, लेखक पुरुष भएकाले महिलाको दृष्टिकोण आएको छ कि छैन भनेर हामीले बसेर छलफल गर्यौं ।

महिला र पुरुषमा कति कुरा मेन्टल्ली पनि फरक हुन्छ । यही कारण हामी सँगै बसेर स्क्रिप्टमा काम गर्यौं । संवाद र भाषामा पनि म सँगै बसेर काम गरेको छु ।

कमर्सियल भनिने चलचित्र र विषयप्रधान चलचित्रमा काम गर्दा के फरक पाउनुभयो ?

यसमा काम गर्न धेरै गाह्रो हुँदोरहेछ, कमर्सियल भन्नाले कस्तो चलचित्रलाई कमर्सियल भन्ने भन्ने पनि छ । मलाई लाग्छ कमर्सियल भन्ने बित्तिकै पैसा कमाउने चलचित्र हो । बक्सअफिसमा हिट हुने, धेरै पैसा आउने कमेडी, ड्रामा र रोमान्स नै हो । यो क्राइम थ्रिलर हो । हरहर थ्रिलर अझै बक्सअफिसमा राम्रो पनि गर्ने धेरै फिल्म हुन्छन् । त्यो हेर्दा यो पनि कमर्सियल फिल्म हो । त्यसैले यो सिनेमा धेरै चल्न पनि सक्छ ।

यो वर्ष हेर्दा धेरै महिलाप्रधान फिल्महरू चलिरहेका छन् । यसले पैसा पनि कमाउन सक्छ तर मलाई ग्राहो भएको कुरा चाहिँ प्रचारप्रसारको समयमा भयो । किन भने यस्तो संवेदनशील विषय छ । मैले यसलाई जसरी कमेडी, ड्रामा र रोमान्टिक फिल्म प्रमोट गर्छु त्यसरी हाँसेर उडाएर ख्यालठट्टा गरेर भन्ने नहुने रहेछ ।

म जे बोल्दै छु, कसैको सेन्टिमेन्ट हट नगरिकन बोल्नुपर्छ । मलाई यो प्रमोसनको समयमा एकदमै गाह्रो लाग्यो । सुटिङको समयमा कठिन भएको थियो । रोमान्टिक फिल्म अथवा अरू जनराको लाइट चलचित्र गर्दा रमाइलोमै छायांकन सकिन्छ । तर, यसमा भावनात्मक हुनुपर्ने, ह्याङ भइरहने कसरी इमासन निकाल्ने भन्ने हुनेरहेछ ।

कलाकार भएको हिसाबले पनि त्यो प्रोसेसमा आफूलाई त्यो ठाउँमा राखेर हेर्नु पर्नेहुन्छ । कहिले कहिले आफ्नै दिदीबहिनी, नातेदारहरूलाई त्यो ठाउँमा राखेर हेर्नुपर्छ । त्यसैले त्यस्तो सिन गर्न गाह्रो हुँदारहेछ ।

देशलाई तरंगीत बनाएको विषयमा चलचित्र बनेको छ, चलचित्रले चाहिँ देशलाई तरंगीत बनाउन कत्तिको सक्ला ?

हामीले सक्दो कोसिस गरेका छौँ । एउटा प्रश्न खडा गरेको छ, हामीले यो विषयमा कुरा किन गरिरहेका छैनौँ, जब कोही महिला बलाकृत भएर उहाँहरूको हत्या हुन्छ त्यसपछि बल्ल सबैको ध्यान पुग्छ । अनि आन्दोलन हुन्छ । त्यो आन्दोलनमा सबैको साथ हुन्छ । फेरि यो विषय हराएर जान्छ ।

त्यस्ता क्षणिक आन्दोलन भन्दा मात्रै पनि सधैँ आवाज उठाउनुपर्छ भन्ने प्रश्न यो चलचित्रले उठाउँछ । हामीले निष्कर्ष दिएका छैनौँ । हामीले दिन पन सक्दैनौँ । यसलाई कसरी कन्ट्रोल गर्ने, कहाँ हामी चुकिरहेका छौँ । त्यही भएर यो फिल्मले नै एउटा सन्देश सिर्जना गरोस् भन्ने हाम्रो उद्देश्य हो ।

यो आफैँमा गम्भीर विषय हो, सिनेम्याटिक लिबर्टी त पक्कै लेखक र निर्देशकले लिनु भएको होला । यो अझै अनुसन्धान निष्कर्षमा नपुगेको विषय हो, सिनेमा पनि निष्कर्षमा नपुग्दा दर्शकले खल्लो महसुस पो गर्ने हुन् कि ?

सिनेमा राम्रो बनेको छ भन्नेमा म सतप्रतिशत ढुक्क छु । म आफैँले पनि डबिङ गर्दा फिल्म हेरेँ । त्यसैले दर्शकले मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु ।

दर्शक पैसा खर्च गरेर हलमा आउने हो । पैसा तिरेपछि सिनेमा राम्रो हुनुपर्छ । म आफैँ पनि यही कुरा भन्दै आएको छु । त्यही भएर पनि हामीले यो चलचित्र खल्लो बनाएका छैनौँ ।

यसमा धेरै ड्रामा पनि छ, सस्पेन्स पनि छ । हामीले टेक्निकल्ली पनि सिनेमेटोग्राफी, साउन्डमा राम्रो काम गरेका छौँ । डिटेलमा काम गरेका छौँ ।

मैले पनि धेरै फिल्ममा काम गरँे, धरै फिल्ममा हेरेँ । अहिले पनि यो चलचित्र हेर्दा कहीँ पनि बोरिङ छैन ।

रियलमा यो घटनाको अनुसन्धानमा जसरी प्रहरी–प्रशासन दबाबमा पर्याे भनियो, सिनेमा निर्माणका क्रममा त्यस्तो केही दबाब झेल्नु पर्‍यो ?

स्क्रिप्ट लेख्दा कति कुराहरूमा परिवर्तन गर्नुपर्यो । गौरव पहारीले पुलिसको भूमिका निर्वाह गर्नुभएको छ । प्रहरीले के कस्तो शब्द प्रयोग गर्छन्, बोल्दा कस्तो बोल्छन्, त्यस्ता कति कुराहरूमा अलि सचेत हुनुपर्नेरहेछ । अरु ठूलो दबाब त खासै भएन ।

हामीलाई धेरै गाह्रो भएको टिजर र ट्रेलरमै देख्नु भएको होला । कति रेपकेसहरु छन् हामीले कलाकारहरू पाउन गाह्रो भइरहेको थियो । कलाकारहरूमा म रेपिस्टको रोल गर्छु भन्ने कलाकारहरू हुनुहुन्न थियो । जतिजना पनि कलाकार हुनुहुन्थ्यो उहाँहरूले हो म कलाकार भन्नु हुन्थ्यो, तर यो रोल गर्दा फिल्मलाई राम्रो हुन्छ जनचेतना पनि हुन्छ भनेर किन नगर्ने भनेर कमै मात्रै कालाकारहरू आइदिनुभयो । त्यस्ता कठिनाइहरु भने आए ।

निर्देशकले व्यापारभन्दा पनि कथा भन्ने उद्देश्यले ‘देवी’ बनाएको भन्नु भएको छ, यसको अर्थ कमर्सियल रूपमा सक्सेस हुन्छ भन्ने आत्मविश्वासको कमी हो कि कमर्सियल एलिमेन्ट छैनन् भन्ने सन्देश हो ?

कमर्सियल इलिमेन्ट यो फिल्ममा नभएको हैन । तर हामीले फिल्म राम्रो बनाएर सानोसानो कुराहरूमा ध्यान दिएर स्टोरीदेखि अभिनय ब्यगराउण्डसम्मको राम्रो चलचित्र बनाएपछि त्यो आफैँमा कमर्सियल हुन्छ ।

हामीले कन्टेन्टमा विश्वास गरेका छौँ । प्रोडक्ट राम्रो बनायो भने त्यो आफैँ हिट हसन्छ भन्ने हाम्रो धारणा हो । संवेदनशील विषयमा फिल्म छ । कमेडी ड्रामा र रोमान्टिक फिल्म हैन जुन नेपालमा हिट भइरहेका छन् । तर पछिल्लो समयमा हेर्दा बोक्सीको घर, चिसो मान्छे जस्ता फिल्म महिलाकेन्द्रित भएर पनि चलिरहेका छन् । त्यसैले विश्वास छ ।

आफूले गरेका फिल्महरू जस्तै देवीलाई कुन रूपमा लिनु भएको छ ?

मलाई यो फिल्म मैले गर्नैपर्छ भन्ने लागेर बनाएको हुँ । स्क्रिप्ट हेर्दा नै मलाइ यो सिनेमा छोड्नु हुन्न भन्ने लागेको थियो । यो सिनेमा कमर्सियल रुपमा कति सक्सेस हुन्छ त्यो भोलिको कुरा हो तर आत्मसन्तुष्टि भने मिल्नेछ । भोलिका दिनमा मैले यस्तो चलचित्र पनि गरेको रहेँछु भन्ने हुनेछ ।

महिलाकेन्द्रित फिल्म बनिराख्नु पर्छ भन्ने हो ?

हो महिलाहरूको विषयमा फिल्म बनिराख्नु पर्छ । पछिल्लो समय बन्दै आएका पनि छन् । बलिउडमा पनि त भर्खरभख्खरै सुरुवात भएको हो महिलाकेन्द्रित फिल्म बन्न । महिलाहरूले नै बक्सअफिस धान्दै छन् भन्नेछ । नायिकालाई शीर्ष भूमिकामा रोल दिनु भनेको नै सक्सेस हो भन्ने लाग्छ । यो समाजमा आएको परिवर्तन हो ।

समाजमा पुरुषका मात्रै कथा छैनन्, महिलाका पनि छन् । र तीन आउनुपर्छ भन्ने हो ।

महिला भन्दैमा योङ महिलाको मात्रै हैन कहिले आमाको कहानी आउला, कहिले छोरीका कहानी आउला कहिले साथीको कहानी आउला । यी र यस्ता विषयलाई उठाउनुपर्छ । स्टोरी टेलिङ राम्रो भएपछि त्यो पात्र आफँै राम्रो भएर आउँछ । त्यसको लागि हामीलाई मेन लिड नै चाहिँदैन । त्यो कुरा हाम्रा दर्शकले विस्तारै बुझिराख्नु भएको छ जस्तो लाग्छ । यो पनि परिवर्तनकै एक हिस्सा हो ।