बक्सअफिसमा एकै दिन भिड्दै सौगात र सृष्टि, कसले पाउला दर्शकको साथ ?
काठमाडौं । नेपाली बक्सअफिसमा सौगात मल्ल र सृष्टि श्रेष्ठको भिडन्त हुने भएको छ । यी दुईले लिड गरेका चलचित्र एकै दिन रिलिज हुँदा सौगात र सृष्टि आमनेसामने हुने भएका हुन् ।
अभिनेता सौगात मल्ल अभिनीत सिनेमा ‘बम बहादुर’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने यसअघि नै तय भइसकेको थियो । आज ‘केटी हराएको सूचना’ सिनेमाले पनि यही मिति रोजेपछि यी दुईका चलचित्र एकै दिन आउने भएका हुन् । ‘केटी हराएको सूचना’मा मुख्य भूमिकामा सृष्टि श्रेष्ठ छिन् ।
दीपेन्द्र गौचनको निर्देशन रहेको यो चलचित्रको आज ट्रेलर सार्वजनिक गरिएको छ । साउन्डबिनाको ट्रेलरमा सृष्टि र नाजिर देखिएका छन् ।
अपहरणमा परेकी सृष्टिले टिजरमा गज्जवको स्थान पाएकी छन् ।
यता, सौगात मल्ल चलचित्र ‘बम बहादुर’लाई जोन राईले निर्देशन गरेका छन् । सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको समिश्रण रहेको यो सिनेमाले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिलेका घटनाहरूले कसरी वर्तमानमा असर गरिरहेको भन्ने देखाइएको छ ।
सिनेमामा सौगातका अलवा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की र सुरेश पाँचकोटीको अभिनय रहेको छ ।
यसैगरी, यो मितिमा चलचित्र ‘ह्रस्व दीर्घ’ पनि रिलिज हुने छ । यसअघि यो चलचित्र असोज ३ गतेबाट प्रदर्शनमा आउने भनिएको थियो ।
पोस्ट प्रोडक्सनको काम पूर्वनिर्धारित मितिमा काम नसकिएकाले निर्माणपक्षले प्रदर्शन मिति पछि सारेको हो ।
चन्द्र पन्तले निर्देशन गरेको सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतकलाकारको अभिनय छ ।
यसरी हेर्दा कात्तिक ३० मा त्रिपक्षीय भिडन्त निश्चित भएको छ ।