‘खुस्मा’ निर्माणपक्षको प्रष्टोक्ति– हाम्रो सिनेमा द्वन्द्व होइन प्रेम कथा हो
काठमाडौं । चलचित्र ‘खुस्मा’ निर्माणक्षले चलचित्र प्रेम कथामा आधारित रहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माणपक्षले ‘खुस्मा’मा द्वन्द्वको कथा नभएर प्रेम कथा समेटिएको बताएको हो ।
पत्रकार सम्मेलनमा अभिनेता धिरज मगरले चलचित्रले माओवादी द्वन्द्वको जगमा प्रेम सम्बन्धमा पर्ने प्रभावको कथा उठाएको बताए ।
बाल्यकालमा आफ्नो प्रेमलाई लिएर गरिने कल्पना नै सिनेमाको कथा भएको उनको भनाइ छ ।
“हामी बाल्यकालमा आफ्नो प्रेम कस्तो होस् भनेर कल्पना गर्छौं, त्यस्तै पियोर प्रेम कथा यो चलचित्रले भन्नेछ,” धिरज भन्छन् ।
नायिका उपासना सिंह ठकुरीले भिन्न इन्भायरमेन्टमा हुने प्रेमको कथा चलचित्रले भन्ने बताइन् । चलचित्रमा गाउँको कल्चर र कथा रहेको उनको भनाइ छ । गाउँको चरित्रलाई न्याय गर्न आफूले गाउँमै गएर अध्ययन गरेको उनले बताइन् ।
निर्देशक अशोक थापा मगरले चलचित्र द्वन्द्वको कथा नभएको बताएका छन् । द्वन्द्वको पृष्ठभूमीमा मात्रै कथा भनिएको तर द्वन्द्वको कथा नै भने सिनेमाले उठान नगरेको उनको भनाइ छ ।
“खुस्मा माओवादी द्वन्द्वको कथा होइन । द्वन्द्वको बाछिटा मात्रै छ,” निर्देशक अशोकले भने । चलचित्र असोज ३ गते रिलिज हुँदै छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखक तथा निर्देशन अशोक थापा मगर हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने यो उनको पहिलो हो ।
डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौवटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्दै छ ।