दीपेन्द्रको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’, हरिवंश र प्रकाश प्रमुख भूमिकामा

काठमाडाैं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । अभिनेता हरिवंश आचार्य र गायक-कलाकार प्रकाश सपूतको मुख्य भूमिकामा यो चलचित्र निर्माण हुने भएको हो।
निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने यस चलचित्रलाई बुधबार चलचित्र विकास बोर्डमा नाम दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएको छ । बोर्डमा ‘हरिबहादुरको जुत्ता’ नाम दर्ता गराइएपनि यस सिनेमाको औपचारिक घोषणा भने गरिएको छैन ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्रलाई सरोज ओलीले निर्माण गर्न लागेका हुन् । एक करोड ५० लाख रुपैयाँमा निर्माण गर्ने उल्लेख गरिएको यस सिनेमाको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् ।
यता, यस सिनेमाका बारेमा अभिनेता आचार्य भन्छन्,’मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो, सरोज ओली भाईलाई सुनाएपछि उहाँ उत्साहित हुनुभयो र फिल्म बनाउन तयार हुनुभयो। त्यसपछि मलाई नै लिड रोलमा अनुबन्धित गर्नुभयो। आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु।’
सिनेमा निर्माणमा पहिलोपटक होमिएका सरोज ओली, जो गायक तथा म्यूजिक भिडियो निर्माता पनि हुन्। अभिनेता आचार्य र निर्माता ओलीले म्युजिक भिडियोमा लगातार सहकार्य गर्दै आइरहेका छन् ।
निर्माता ओलीले हरिवंश दाइले दिएको कथा सुन्नेवित्तिकै मनपर्यो, त्यसपछि फिल्म निर्माणको निर्णय गरेको बताएका छन् ।
यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुतको सहकार्य पहिलो पटक हुनेछ। सिनेमाको थप कास्ट एन्ड क्रु फाइनल गर्न बाँकी रहेको र कथासारबारे निर्माण पक्षले चाँडै खुलासा गर्ने योजना बनाएको छ।