यसरी जित्यो ‘पूर्ण बहादुरको सारङ्गी’को टिजरले दर्शकको मन
काठमाडौं । “मैले पूर्ण बहादुरको सारङ्गी हलमै गएर हेर्ने निर्णय गरेँ,” फेसबुकमा सिनेमाको टिजर सार्वजनिक गर्दै सोमबार श्रीहजुर सिलवाल राजन नामको फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुकमा लेख्छन् ।
उनले यो चलचित्र हलमा गएर हेर्छन् वा हेर्दैनन् त्यो उनैलाई थाहा होला तर उनको स्टाटसबाट यो भने थाहा हुन्छ उनलाई टिजरले छोयो । बुवाको मुख हेर्ने कुशे औँसीको अवसर पारेर त्यसको ठिक अघिल्लो दिन ‘पूर्ण बहादुरको साङ्गी’को टिजर सार्वजनिक भयो । टिजरमा छोरो पढाउन र संसार देखाउन बुवाले गरेको संघर्ष देखाइएको छ । त्यसलाई मन पराउने धेरैले बुवालाइ समर्पण गर्दै टिजर सेयर गरे ।
श्रीहजुरलाई यो टिजर किन मनपर्यो उनले कारण खुलाएका छैनन् । तर जिम्मेवार बुवाहरुलाई समर्पण गरेका छन् । तर क्षेत्रीको छोरोले भने उनलाई टिजर मनपर्नुको कारण खुलाएका छन् । उनी लेख्छन्, “नेपाली समाज सुहाउँदो मुभी पक्का होला जस्तो छ । यो सब आधुनिक नेपाललाई चिनाउने मुभी पक्का बनेछ । विजय बराल र प्रकाश सपूतलाई शुभकामना,” युट्युब कमेन्टमा उनले लेखेका छन् । नेपाली समाजको मौलिक कथा सिनेमाले उठाउनु उनलाई यो टिजर मन पर्नुको कारण बनेको छ । टिजर हेरेर उनले सिनेमा पनि राम्रो बनेको विश्वास गरेका छन् ।
क्रिएशन वीर नामक फेसबुक प्रयोगकर्ता टिजर हेरेर लेख्छन्, “आफ्नो सन्तानलाई खुसी बनाउन दुःख लुकाएका बुवाको कथा, औधीनै मन छोयो ।”
नेपाली सिनेमाको कथा नियालेर केलाउने हो भने भेटिन्छ, आमाको कथा । आमाले सन्तानका लागि गरेको दुःख र त्यागको कथा । तर पूर्ण बहादुरको सारङ्गीको टिजरमा बुवाले छोराका लागि गरेको संघर्षको कथा छ । एकातिर नेपाली सिनेमाको कथा हिँडिरहेका बेला यो सिनेमाको कथा अर्कै बाटो हिँडेको छ । बिल्कुल अलग त होइन । तर आमाको कथा भनिरहेको समय बाको कथा भन्ने प्रयास गरेको छ । यो प्रयासको दर्शकले सरहना गरिरहेका छन् ।
ईश्वर कुमार विष्ट सायद टिजर हेरेर निकै भावुक भए । उनका यी शब्दले यही संकेत गर्छन्, “बुवा मेरो सासले साथ दिएसम्म, हजुर म सँग रहेसम्म रुवाउने छैन बा ।”
नेपाली दर्शकलाई तान्न धेरै मेहनत गर्नै पर्दैन । थोरै भावना मिसाएर शान्तसँग नेपाली जनजीवन बोलिदिए पुग्छ । यही त छ, यो टिजरमा । आमा बुवाआमाले छोरोछोरी पढाउन गरेको संघर्ष टिजरले देखाइदिएको छ । त्यसमा नेपाली भाकामा केही भावना पोखिएका छन्, त्यसैले दर्शकको मन जितेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’को टिजरमा संघर्ष र उपलब्धी
यसलाई विक्रम विश्वकर्माको भनाइले प्रष्ट पार्छ । टिजर हेरेर उनी कमेन्छ गर्छन्, “टिजर हेरेर साह्रै मन छोयो । म अन्दाज लगाउन सक्छु, फिल्मको कथा पनि एकदमै मर्मस्पर्शी होलो ।” हाम्रो समाजमा आम गरिब परिवारले पढ्न र दुई छाक खान दिनरात संघर्ष गर्नुपर्छ । त्यही कथा सिनेमाले भनेपछि मन त छुनै भयो ।
सायद दर्शकको यही नारी छामेर हुनुपर्छ, निर्माणपक्षले यो कथा रोजेको । पूर्ण बहादुरको सारङ्गी बनाएको ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिक लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।
टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।