‘आँखा’को मर्मस्पर्शी गीत ‘खुशी’मा सपना र संघर्षको कथा

निर्देशक जौन योन्जनको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आँखा’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ।

आगामी असोज ११ बाट प्रदर्शनमा आउन लागेको सिनेमाको ‘खुशी’बोलको मर्मस्पर्शी गीत नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप सार्वजनिक गरेको हो।

दीपक आरजले संगीत दिएको यो गीतको शब्द प्रकाश मल्ल र राम अविरल बिष्टले लेखेका छन् भने पवन गिरी र मीना सिंहको स्वर दिएका छन् ।

गीतको एरेञ्जमेन्ट गंगा थापाले गरेका छन् भने मिक्सिङ र मास्टरिङको काम राजीव एन्ड्रियू श्रेष्ठले गरेका छन्। गीतमा जीवनको खुशी र त्यसको खोजीमा देखिने सपना र संघर्षको कथा प्रकट गरिएको छ, जसले श्रोता र दर्शकलाई भावुक बनाउने अपेक्षा निर्माण टिमले गरेको छ।

सामाजिक विषयवस्तुमा तयार भएको चलचित्रको गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता फिचर्ड छन्। उनीहरूको अभिनयले गीतको भावलाई थप प्रभावकारी बनाएको छ।

नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको टिम रहेको सिनेमालाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ।

पोस्टर र टिजर सार्वजनिक भइसकेपछि चर्चामा रहेको सिनेमामा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, र बाल कलाकार प्रसन राईको अभिनय रहेको छ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार यस सिनेमालाई निर्देशक जौन योन्जनले कथा, पटकथा लेख्नुका साथै निर्माण गरेका हुन्।

नदी किनार ओगटेर बसेका सुकुम्बासी बस्ति भित्रको ‘आँखा’ यो सिनेमाले खोल्ने प्रयास गरेको निर्माण टिमले बताएको छ ।

नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको चलचित्रका राम बस्नेत लाइन प्रोड्यूसर हुन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

आलोक शुक्लाको छायांकन रहेको सिनेमामा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, दिपक आरजे र जयन जे वाइवाको संगीत छ । सिनेमामा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको रहेको छ ।

सिनेमाको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।