जब ‘पिताम्बर’ले अधिकांश स्टारलाई एउटै फ्रेममा अटाइदियो

काठमाडौं । निर्माणको घोषणादेखि नै चलचित्र ‘पिताम्बर’ चर्चामा छ । चर्चाको कारण हो, चलचित्रका कलाकार ।

एकपछि अर्को गर्दै ‘पिताम्बर’मा बजारका स्टार कलाकारहरू अनुबन्ध भए । अहिले बजारले पत्याएका र खोजिरहेका कलाकारलाई यो चलचित्रमा एकपछि अर्को गर्दै निर्देशक कृषा चौलागाईंले अनुबन्ध गर्दै गइन् ।

जब यो चलचित्रमा जोडिन आइपुगे दयाहाङ राई, त्यसपछि लाइनअप हेर्नलायक मात्रै बनेन गज्जवको बन्यो । यस्तो लोभलाग्दो लाइनपअप कमै मात्र बनेका होलान्, नेपाली चलचित्र उद्योगमा । अब पनि सायदै बन्ला । किनकी सिनेमा इन्डस्ट्रिका अधिकांश स्टार पहिलो कुरा व्यस्त हुन्छन्, दोस्रो पक्ष सबैलाई सिनेमाको कथा र भूमिकाका कारण पनि खेलाउन सकिँदैन ।

यो लोभलाग्दो लाइनअप एउटा तस्बिरमा देखियो । हुन त यो तस्बिरमा ‘पिताम्बर’का सबै कलाकार छैनन् । तर जति एउटै कलाकार फ्रेममा अटाएका छन्, त्यसले धेरैलाई लोभ्याएको छ ।

फ्रेममा छन् दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, प्रमोद अग्रहरि, रवीन्द्र झा । यसमा यति मात्र होइन आर्यन सिग्देल, अनुप विक्रम शाही, दिव्य देव, आँचल शर्मा, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीलगायतको पनि अभिनय रहनेछ ।

यो लाइनअपले यति धेरै स्टार कलाकार भएको चलचित्र कस्तो बन्छ होला भन्ने कौतुहलता दर्शकमा सिर्जना भएको छ । बजारका रोजाइका कलाकार जो सिंगल लिड गरेर थुप्रै चलचित्र खेलिसकेका छन्, उनीहरू सँगै काम गर्दैनन् भन्ने भाष्य चिर्न सफल कृषा साधुवादकी पात्र हुन् ।

अब उनले कस्तो चलचित्र बनाउँछिन्, त्यसले उनको निर्देशकीय करिअर निर्धारण गर्नेछ । उनको यो बिग बजेटको प्रोजेक्ट हो । जसमा ५ करोड लगानी गर्दैछिन् । त्यसैले उनले यसलाई ड्रिम प्रोजेक्ट भन्दै आएकी छन् ।

‘पिताम्बर’को छायांकन अहिले नवलपरासीमा भइरहेको छ । यो दोस्रो सेड्युलको छायांकन हो ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

सिनेमाको निर्माता विशाल चौलागाई हुन् । चलचित्र प्रदीप भारद्वाजले लेखेका छन् । गज्जवको लाइनअपले चलचित्रलाई प्रतिक्षित बनाएको छ ।