साइत हेरेर सन्तोषले फुके ‘बलिदान’को बिगुल
काठमाडौं । चलचित्र ‘बलिदान’को छायांकन सुरु भएको छ । साइत हेरेर प्रविधि पूजा गर्दै निर्माणपक्षले बलिदानको छायांकन सुरु गरेको हो ।
लामो समयदेखि ‘बलिदान’ निर्माणका लागि गर्दैै आएको अथक मेहनत, खोज अनुसन्धान र सिर्जना तथा प्रि–प्रोडक्सनपछि प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा प्रवेश गरेको निर्देशक सन्तोष सेनले बताएका छन् ।
“भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डली, लगायत भारत– नेपालका दक्ष अपरेटर सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरू भेला गर्दै सुभसाइत तथा ग्रहगोचरका आधारमा आजदेखि उपयुक्त दिन हुनाले हामीले क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै बलिदानको विगुल फुकेका छौँ,” सन्तोषले भनेका छन् ।
पर्दामा हिरो जन्माउने रियल हिरो पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने टेक्निसियन र प्रविधि हुन् भन्दै उजले भनेका छन्, “यही कुरालाई हृदयङ्गम गर्दै हामीले सर्वप्रथम यिनकै पूजा गरेर प्रोडक्सनको चरणमा पाइला टेकेका छौँ ।”
सन्तोष सेनको निर्देशन रहने चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । यस्तै सौगात मल्ल, अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् ।
यही वर्ष रिलिज हुने सिनेमाको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुनेछ ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् ।