तीन फिल्मको रेकर्ड तोड्न अग्रसर ‘स्त्री २’, २४ दिनमा कति कमायो ?

बलिउड अभिनेत्री श्रद्धा कपुर र अभिनेता राजकुमार राव अभिनीत फिल्म ‘स्त्री २’ सन् २०१८ मा रिलिज भएको ब्लकबस्टर हरर कमेडी फिल्म ‘स्त्री’को सिक्वेल हो। अगस्ट १४ मा रिलिज भएको फिल्मले दर्शकबाट अत्याधिक प्रतिक्रिया पाउनुका साथै बक्सअफिसमा तहल्का मच्चाइरहेको छ।

अमर कौशिक निर्देशित हरर-कमेडी ‘स्त्री’को सिक्वेलले दर्शकहरूको मन जित्न सफल भएको छ। यस फिल्मले रिलिज भएको २४औँ दिनसम्म आइपुग्दा लगातार उत्कृष्ट कमाई गर्दै सबैको ध्यान तानेको छ।

‘स्त्री २’ले बक्सअफिसमा आफ्नो धमाकेदार कमाइको यात्रा जारी राख्दै २४औँ दिनसम्म ५०५.९२ करोड भारु कमाएको छ। प्रदर्शनको तोस्रो सातामा २ करोड ६७ लाख भारु कमाई गरेको छ। योसँगै ‘स्त्री २’ ले बलिउडमा थुप्रै ठूला फिल्महरूलाई पछि पार्दै हालसम्म कुल मिलाएर ५०५.९२ करोड भारु कमाएको छ।

यस फिल्मले पहिलो हप्तामा २९१.६५ करोड र दोस्रो हप्तामा १४१.४ करोडको आँकडा पार गरेको थियो । पहिलो हप्तामै धेरै रेकर्ड तोड्न सफल भएको फिल्मले दोस्रो हप्तामा बलिउडमा सर्वाधिक कमाई गर्ने फिल्मको कीर्तिमान स्थापित गरेको छ।

केही दिनमा रिलिज भएको एक महिना पूरा गर्न लागेको ‘स्त्री २’को लोकप्रियता र कमाई हेर्दा बलिउडमा सबैभन्दा उच्च कमाइ गर्नेमा ‘स्त्री २’ मात्र तीन फिल्म पछाडि छ ।

फिल्म ‘स्त्री २’ले रणवीर सिंह र दीपिका पादुकोणको ‘बाजीराव मस्तानी’ लाई भारतीय फिल्म कलेक्शनको हिसाबले पछाडि छाडिसकेको छ, जसको लाइफटाइम नेट कलेक्सन १८४ करोड भारु थियो। यस बाहेक तानाजीः द अनसंग वारियर, दिलवाले, कबीर सिंह, ह्याप्पी न्यू इयर, प्रेम रतन धन पायो, किक, क्रिस ३, सिम्बा, ३ इडियट्स, चेन्नई एक्सप्रेस, ब्रह्मास्त्र पार्ट १, अन्धाधुन, टाइगर ३, गधा, वार, धूम ३, टाइगर जिन्दा है, पद्मावत, सञ्जु, सुल्तान, गदर २, पीके, बजरंगी भाइजान र आमिर खानको दंगल जस्ता बलिउड फिल्महरूको बक्स अफिस रेकर्ड तोडी सकेको छ।

‘स्त्री २’ले हिन्दी कलेक्शनको हिसाबले फिल्म ‘कल्की २८९८ एडी’लाई समेत पछाडि छोडेको छ । यस्तै, यो फिल्मले बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ पछाडि छ, जसको भारतीय बक्स अफिसमा कुल कलेक्सन करिब ६४३.८७ करोड भारु कमाइ गरेको थियो । यसपछि सर्वाधिक कमाइ गर्नेमा जवान ६४३.८७ र एनिमल ५५६.३६ रहेका छन्, जसलाई ‘स्त्री २’ले अहिलेसम्म जित्न सकेको छैन ।

अब फिल्म ‘स्त्री २’ले घरेलु बक्सअफिसमा तीन फिल्मको रेकर्ड तोड्न सक्छ या सक्दैन त्यो मात्र बाँकी छ । फिल्मले अझै दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ र निरन्तर यसको व्यापार उकालो लागिरहेको छ। फिल्मको प्रशंसनीय कमाई र लोकप्रियता हेर्दा, यसले अझै पनि बक्सअफिसमा आफ्नो पकड कायम राख्ने देखिन्छ।

फिल्ममा श्रद्धा कपुर र राजकुमार रावसँगै पंकज त्रिपाठी, अभिषेक बनर्जी, र अपारशक्ति खुरानाको पनि मुख्य भूमिका रहेको छ। यो फिल्म दिनेश विजनको हरर-कमेडी ब्रह्माण्डको हिस्सा हो, जसमा ‘भेडिया’ र ‘मुन्ज्या’ जस्ता फिल्महरू समावेश छन्।