karsang
Close Me

‘खुस्मा’को गीत र टिजरपछि विदेशमा माग बढ्यो, जापान र कोरियामा प्रदर्शनको तयारी

काठमाडौं । चलचित्र ‘खुस्मा’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ। संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै दुई देश जापान र कोरियाको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।

यस चलचित्रको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको पुष्टि भएको छ। यद्यपि, कोरियाको प्रदर्शन अधिकार कसले किनेको हो भन्नेबारे निर्माण टिमले खुलाउन चाहेको छैन।

निर्देशक अशोक थापा मगरले ‘खुस्मा’को गीत र टिजर रिलिज भएपछि दर्शकहरूको उच्च चासो देखिएकाले गर्दा विदेशमा प्रदर्शन अधिकारको राम्रो माग बढेको बताए। मगरले अन्य देशहरूबाट पनि प्रदर्शनको लागि कुराकानी भइरहेको र फाइनल भएसँगै जानकारी दिने योजना रहेको बताएका छन्।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको मगर समुदायको परिवेशमा आधारित यो सिनेमाको लेखन र निर्देशन अशोक थापा मगरले गरेका हुन्। यसअघि केही डकुमेन्ट्री सिनेमाको निर्देशन गरेका थापाका लागि यो पहिलो ठुलो पर्दाको फिल्म हो। उनको डकुमेन्ट्री सिनेमाहरूले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नौवटा अवार्ड जितिसकेका छन्।

‘खुस्मा’को गीत ट्रेन्डिङमा आउँदा चलचित्र हिट हुन्छ ?

सिनेमाका निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर हुन् भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन्। सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

जनयुद्धको समयमा अंकुरिएको प्रेमकथालाई पर्दामा उतार्ने सिनेमामा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, र विवेश मगर लगायतका कलाकारले अभिनय गरेका छन्।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्ने जिम्मा लिएको छ।

यो पनि पढ्नुहोस् – ‘खुस्मा’ निर्माणपक्षको प्रष्टोक्ति– हाम्रो सिनेमा द्वन्द्व होइन प्रेम कथा हो