दीपेन्द्रले सक्काए ‘के घर के डेराः घर नम्बर २’ को छायांकन
काठमाडाैं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को छायांकन सम्पन्न भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रले साउन २५ गतेदेखि छायांकन सुरु गरेको थियो । २५ दिनमा छायांकन सकिएकाे हाे ।
चलचित्रको छायांकन काठमाडौं र आसपासका क्षेत्रहरूमा गरिएको हो । यो चलचित्रको प्रदर्शन मिति माघ ११ गतेलाई तय गरिएको छ ।
छायांकन सफलतापूर्वक सम्पन्न भएको बताउँदै निर्देशक खनालले सामाजिक विषयवस्तुलाई दर्शक माझ रोचक तरिकाले भनिने जानकारी दिए । ”चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा परिवार, समाज र विभिन्न विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई मनोरञ्जन दिने छ”, उनले भने ।
“काठमाडौंमा डेरा गरेर बस्नेका समस्या र घरभेटीका समस्या यो चलचित्रले उजागर गरेको छ,” उनले भने, “काठमाडौंमा जति घर थपिँदैछन्, त्यति नै डेराको पनि समस्या छ । यही कथालाई चलचित्रले भन्नेछ ।” यससँगै यो चलचित्रले धेरै विषयलाई उजागर गर्ने उनको भनाइ छ ।
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारहरुको अभिनय छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माणभएको यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
सिनेमाको सह-निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । सिनेमामा कृष्णबहादुर थापाको छायांकन छ । ओएसआर डिजिटल सिनेमाको डिजिटल पार्टनर रहेको छ ।
सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।