नवाजुद्दिन सिद्दिकीलाई लिएर चलचित्र बनाउँदै मीन भाम
काठमाडौं । चलचित्र ‘साम्बाला’ निर्देशक मीन भामले बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीलाई लिएर चलचित्र निर्माण गर्ने भएका छन् ।
पहिलादेखि नै नवाजुद्दिनसँग काम गर्ने सहमति भए पनि अवसर नजुरेको भन्दै अब भने सँगै काम गर्ने मीनले बताएका छन् । धेरै पहिलादेखि मीनले नवाजुद्दिनलाई लिएर काम गर्न चाहेको बताएका छन् ।
“उहाँ मेरो साथी पनि हो । उहाँसँग सँगै काम गर्ने भनेर धैरै पहिलादेखिकै कुरा हो । तर विभिन्न कारणले अहिलेसम्म सम्भव भएन,” मीनले भनेका छन्, “त्यसैले अब उहाँसँग नयाँ प्रोजेक्टको काम हुनेछ ।”
आज नेपाल आएका नवाजुद्दिनसँग चलचित्रबारे छलफल हुने र कहिले काम गर्ने भन्ने तय हुने उनले बताएका छन् । भोलि हुने ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनी आज दिउँसो नेपाल आइसकेका छन् ।
प्रिमियरमा सहभागी हुन र मीनसँगको चलचित्रका विषयमा काम गर्न उनी नेपाल आएका हुन् ।
बलिउड निर्देशक अनुराग कश्यप पनि प्रिमियरमा सहभागी हुन आउँदैछन् ।
‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रको मुख्य भूमिकामा थिन्ले ल्हामो, कर्मालगायत छन् ।
‘साम्बाला’को प्रिमियरमा सहभागी हुन अनुराग र नवाजुद्दिन काठमाडौंमा