प्रकाश र स्वस्तिमाले बागलुङबाट सुरु गरे ‘वसन्त’को छायांकन
प्रकाश सपूतको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘वसन्त’को छायांकन सुरु गरिएको छ।
चलचित्रको छायांकन सपूतको जन्मथलो बागलुङस्थित कालिका मन्दिरबाट शुभमुहूर्त गर्दै सुरु भएको हो। मुहूर्त समारोहमा सपूतसहित अभिनेत्री स्वस्तिमा खड्का, अनुप बराल, र अन्य कलाकारहरूले क्यामेरा, स्क्रिप्ट, र क्ल्याप बोर्डको पूजा गर्नुका साथै सिनेमाको टिमले शान्ति पदयात्रा पनि आयोजना गरेको थियो ।
सिनेमाको छायांकन आफ्नो जन्मथलो धम्जा गाउँ र बागलुङका विभिन्न स्थानमा करिब २५ दिनसम्म छायांकन गरिने सपूतले जानकारी दिए। दसैँ र तिहारको बिचमा काठमाडौँ र तराई क्षेत्रमा पनि चलचित्रको छायांकन गरिने योजना रहेको बताइएको छ।
‘परदेशी २’बाट अभिनेता बनेका गायक सपूतले अब ‘वसन्त’बाट निर्देशकको परिचय थप्दैछन् ।
चलचित्रमा संगीत पनि प्रकाश स्वयंमले गर्नेछन् । यस चलचित्रमा सुसन प्रजापतिले छायांकनको जिम्मेवारी लिएका छन्। कलाकारहरूको सूचीमा अनुप बराल, स्वस्तिमा खड्का, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, र शिवांशी श्री रहेका छन्।
सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचिको कथा पनि प्रकाश स्वयंले लेखेका छन् । जातीय विभेदबीच अन्तरजातीय प्रेम चलचित्रको मुख्य कथा हो ।
चलचित्रको घोषणाको बेला सार्वजनिक गरिएको टिजरले वर्ण व्यवस्था र जात व्यवस्थाले पिल्सिएको एउटा तप्काको कथामा ‘वसन्त’ बन्न लागेको जानकारी गराउँछ । प्रकाशको पात्र (वसन्त)लाई लेखनप्रति रुचि देखिन्छ, जो विश्वकर्मा परिवारका हुन् । स्वस्तिमा भने कथित माथिल्लो जातकी युवती (शान्ति)को भूमिकामा छिन् । प्रकाश र स्वस्तिमाको प्रेमलाई पनि फिल्मले देखाउनेछ ।
तीन करोड रुपैयाँको बजेटमा निर्माण हुने ‘वसन्त’ आगामी चैत २२ गते प्रदर्शन हुने तय भएको छ।
कस्तो छ ‘वसन्त’को थिम पोस्टर ?