‘जन्ते बाख्रो’को मुख्य भूमिकामा सौगात, सिमोससँग तेस्रो सहकार्य

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । चलचित्रको निर्माण घोषणा गर्दा कलाकारबारे जानकारी निर्माण टिमले दिएको थिएन ।

तर मंगलबार सिनेमाको निर्माण टिमले ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको छ । यो चलसचत्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरुले झ्यानाकुटी र हात्तीछापमा एकसाथ काम गरेका थिए ।

आगामी भदौबाट छायांकन गरिने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । सिनेमा कथावस्तुलाई लिएर सौगात उत्साहित छन् । सिनेमामा अभिनय गर्ने अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।