karsang
Close Me

‘साम्बाला’को प्रिमियरमा पुगेर के भने नवाजुद्दिन र अनुरागले ?

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपले आइतबार साँझ काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा चलचित्र ‘साम्बाला’ हेरेका छन् ।

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’को प्रिमियरमा विशेष अतिथिका रूपमा पुगेका उनीहरूले ‘साम्बाला’ हेरेका हुन् ।

प्रिमियरमा बोल्दै सिद्दिकीले आफू नेपाल पहिलो पटक आएको बताए । “म नेपाल पहिलो पटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ”, उनले भने, “फेरि पनि नेपाल अवश्य आउँछु ।”

निर्देशक अनुराज कश्यपले नेपालको चलचित्र क्षेत्रको विकास हुँदै गएको बताए । यहाँको आतिथ्यता, नेपाली र खाना आफूलाई मन परेको उनले बताए । छोटो बोलका उनीहरूलाई नेपाली चलचित्रकर्मीले भब्य स्वागत गरेका थिए ।

प्रिमियरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्रमार्फत नेपालको पर्यटन आकर्षित गर्न सकिने बताए । प्रत्येक हिमालको आआफ्ने विशेषता रहेको बताउँदै उनले ‘साम्बाला’ले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने बताए । यो चलचित्र हिमाली भेगमा खिचिएको छ ।

‘साम्बाला’ले विश्व बजारमा आफूलाई अब्बल रुपमा उब्याउने उनको विश्वास छ ।

बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ ।

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ ।

प्रिमियरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, रास्वपा नेतृ सुमना श्रेष्ठ पनि पुगेका थिए । यस्तै कलाकार नीर शाह, दयाहाङ राई, नाजिर हुसेन, मिरुना मगर, धिरज मगर, उपासना सिंह ठकुरी, जितु नेपाल, सृष्टि श्रेष्ठ, गायक–गायिका आनी छोइङ डोल्मा, सत्य–स्वरुपराज आचार्य, इन्दीरा जोशी लगायत प्रिमियरमा पुगेका थिए ।