इटालियन सिनेमा ‘द टाइगर्स नेस्ट’को प्रदर्शनसँगै किम्फ सुरु
काठमाडौं । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ ।
‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा हो । भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रम नजिकैको जंगलबाट बाघको बच्चाको शिकारीबाट उद्दार गर्छन् । त्यसपछि रोचक र अनौठो ढंगले यी दुईबीच मित्रता गाँसिन्छ । यो मित्रतापछि उनीहरु हिमालयमुनिको रोमाञ्चक यात्रामा निस्कन्छन् ।
तर उनीहरुको पछिपछि शिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोह अवरोह ल्याइदिन्छ । फिल्मको कथा बौद्धधर्मको एउटा किंवदन्तीमा आधारित छ । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यो फिल्ममा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ । नेपालमा छायांकन भएको यो फिल्ममा नेपाली कलाकारहरु लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ । १ घन्टा ३४ मिनेटको ‘द टाइगर्स नेस्ट’ शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ ।
फिल्म प्रदर्शनअघि भएको उद्घाटन समारोहमा किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन् ।
लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा किनोट स्पिच दिएका थिए । आफू ४५ वर्ष अघि पहिलो पटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको बताउँदै उनले भने, “नेपालीको हाँसो भने जस्ताको तस्तै छ।”
‘इन टु द हार्ट अफ माउन्टेन’ वृत्तचित्र प्रदर्शनसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को पहिलो दिन समापन भएको छ । एनेग्री बोसमोनको निर्देशनमा बनेको यो वृत्तचित्रले जेन बौद्ध धर्म अँगालेकी नेतृ रोशी जोन ह्यालिफक्सलाई केन्द्रमा राखेर उनीसँगै हुम्लाको विकट हिमाली भूभागको कथा भन्छ ।
वृत्तचित्रमा १८ हजार फिटभन्दा अग्ला डाँडामा हप्तौंहप्ता यात्रा गरेर स्वास्थ्य सेवा प्रदान गर्ने समूहको संघर्षलाई प्रस्तुत गरेको छ । यसक्रममा हुम्लाको प्राकृतिक सौन्दर्य, त्यहाँका मानिसहरुका दिनचर्या, रहनसहन, संस्कृतिसँगै त्यस भेगका मानिसले सामना गर्नुपरेको जलवायु परिवर्तनका समस्याहरु पनि उजागर गर्छ ।
जेठ २० सम्म चल्ने महोत्सवमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फमा विविधताले भरिएका २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।