karsang
Close Me

‘खुस्मा’को रुकुम मैकोटको पेलानमा ‘१२ गाउँ’को सिनेमा हेर्न जाउँ

दुई चलचित्र ‘खुस्मा’ र ‘१२ गाउँ’ का फरक-फरक दुई वटा गीत यतिबेला युट्युबको ट्रेन्डिङमा छन् ।

खुस्मा’को ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्यूजिक सेक्सनमा पहिलो स्थानमा छ भने ‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’ दोस्रो स्थानमा रहेको छ।

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको ‘खुस्मा’को करिब दुई साता अघि सार्वजनिक भएको ‘रुकुम मैकोट’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन अर्न्तगत नम्बर १ मा आफ्नो ठाउँ जमाउन सफल भइरहेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई करिब ४५ लाख जति दर्शकले हेरिसकेका छन् ।

‘रुकुम मैकोट’ गीत एसडी योगीको संगीत निर्देशनमा तयार भएको हो। सुरेन्द्र राना द्वारा लिखित र एसडी योगी तथा शान्तिश्री परियारको स्वरमा सजिएको यो गीतले दर्शकलाई निकै प्रभावित पारेको छ।

संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘खुस्मा’मा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।

यता, असोज २४ गते रिलिज हुने विराज भट्टको निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाउँ’को तीन दिनअघि सार्वजनिक गरिएको पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ हालसम्म ७ लाख ७७ हजार ७ सय भन्दा बढी दर्शकहरूले हेरिसकेका छन्।

सार्वजनिक गीतमा अर्जुन पोखरेल र विराज भट्टको शब्द रचना छ । संगीत अर्जुन पोखरेलले गरेको गीतमा स्वर बलिउड गायक नकाश अजिजको छ । यो गीतमा डेब्यु अभिनेता समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् । सोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी अभिनेत्री हुन् ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा विराज र समीरसँगै पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

न्यान्सी र सनिशाले यही सिनेमाबाट रजतपटमा डेव्यु गर्न लागेका हुन् । यस चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

दुवै चलचित्रको हालको स्थिति हेर्दा, ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतले ‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’लाई ट्रेन्डिङमा पछि पारिदिएको देखिन्छ। भनौँ ‘खुस्मा’को गीतको लोकप्रियताले गर्दा ‘१२ गाउँ’को गीतलाई माथि आउन/ पहिलो हुन दिइरहेको छैन । सुरुवातमा ‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’ गीत जुन रफ्तारले छोटो समयमै ट्रेन्डिङमा आयो तर पहिलो नम्बरमा स्थान बनाउन सकस परिरहेको छ ।

दुई गीतहरूको लोकप्रियता हेर्दा दुबै चलचित्रले राम्रो व्यवसाय गर्ने सम्भावना छ, किनकि दर्शकहरू यी गीतहरूबाट मनोरञ्जनात्मक सामग्रीको अपेक्षा गरिरहेका छन्। ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’को उच्चतम प्रदर्शनले चलचित्रको प्रचारलाई धेरै माथि पुर्‍याएको छ भने ‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’ पनि दर्शकहरूको आकर्षण बटुल्दै लोकप्रिय हुँदै गएको छ। यी चलचित्रका गीतप्रति दर्शकले देखाएको लोकप्रियताले बक्स अफिसमा के कस्तो प्रभाव पार्नेछन् भन्नेमा प्रतीक्षा हुने भएको छ ।