परिवार सम्झेर कार्यक्रममै भक्कानिएका धिरज
नायक धिरज मगरको मंगलबार जन्मदिन परेको थियो। जन्मदिनको अवसरमा धिरज मुख्य भूमिकामा रहेको नयाँ चलचित्र ‘खुस्मा’को ट्रेलर रिलिज कार्यक्रमको आयोजना गरिएको थियो।
ट्रेलर सार्वजनिक गर्ने क्रममा भावुक भएका धिरजले स्टेजमै आँसु झारे। उनी बोल्दै गर्दा एकाएक भक्कानिए र केहीबेर बोल्न सकेनन्। केही समयपछि मात्रै धिरजले आफूलाई सम्हाले र फेरि बोल्न थाले। त्यस समयमा साथै रहेकी सिनेमाकी मुख्य नायिका उपासना सिंह ठकुरीले समेत उनलाई सम्झाउनु पर्यो।
धिरजको भक्कानिनुको मुख्य कारण आफ्नो जन्मदिनमा परिवारसँग नरहनु थियो। उनले आफ्नो परिवारलाई विशेष रूपमा सम्झिए। यता चलचित्रका निर्देशक अशोक थापा मगरले जन्मदिनको छेको पारेर ट्रेलर सार्वजनिक गर्नुका साथै बाहिर केकको व्यवस्था गरेको देखेर उनी भक्कानिएका थिए।
रुकुममा जन्मिएका धिरज दुई वर्षको उमेरमा परिवारसहित युके पुगेका थिए। विशेषगरी यो सिनेमा रुकुममै छायांकन भएको हुँदा आफू जन्मिएको ठाउँमा फर्किन पाउँदा उनी भावुक बने। “मलाई रुकुमका स्थानीयहरूले धेरै माया दिनुभयो,” उनले भावुक हुँदै भने, “यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ।”
उनले अगाडि थपे, “जन्मदिनमा यो सिनेमा उपहार पाउँदा म धेरै खुशी छु। दुई वर्षको हुँदा युके गएको म अब टक्सेरा गाउँका बाजे, मामा-माइजु, काका-काकीहरूलाई भेट्न पाएकोमा गर्व गर्छु। म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु र केही हदसम्म सफल भएको छु जस्तो लाग्छ।”
सोही अवसरमा पहिलो सिनेमा ‘इन्टु मिन्टु लण्डन’की निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबरालाई पनि सम्झदै उनले कृतज्ञता व्यक्त गरे।
असोजको ३ गतेबाट देशभरका हलमा प्रदर्शन हुने सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर हुन् ।