‘जिन्दाबाद’ नबनाएर ‘डेनी डेन्जरस’ बनाउँदै निश्चल

काठमाडौं । निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले नयाँ चलचित्रको घोषणा गरेका छन् ।
ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको घोषणा बुधबार सार्वजनिक गरिएको एक थिम पोस्टर मार्फत गरिएको हो।
निश्चलले एक्सन जनराको यो सिनेमाको शीर्षक ‘डेनी डेन्जरस’ राख्दै सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख गरेका छन् ।
पोस्टर हेर्दा सिनेमा ग्याङ्स्टर कथामा बन्न लागेको प्रष्ट हुन्छ । रगतले रङ्गिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिन्छ । यसले कथावस्तुमा गम्भीरता र तनावको संकेत गर्छ।
यो चलचित्र निश्चलको पाँचौं सिनेमा हुने भएको छ । ‘लुट’ बाट चर्चामा आएका उनले त्यस यता ‘लुट २’, ‘टलकजंग भर्सेज टुल्के’, ‘दिमाग खराब’ जस्ता चलचित्र निर्देशन गरेका छन् ।
गत वर्ष प्रदर्शनमा आएको ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलले यस अघि आफ्नो ४० औँ जन्मदिनको अवसर पारेर अर्को चलचित्र ‘जिन्दाबाद’ नामको’ घोषणा गरेका थिए । यस बारेमा भने उनले कुनै जानकारी गराएका छैनन् ।
तिहारपछि छायांकन गर्ने तयारी सुरु गरिएको यस चलचित्रमा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । चाँडै नाम सार्वजनिक गर्ने उनको तयारी छ ।
निश्चलले ‘डेनी डेन्जरस’ रिलिजपछि ‘दिमाग खराब’को सिक्वेल बनाउनेछन् । ‘दिमाग खराब’को प्रदर्शनको ५१ औं दिन मनाउँदै सिक्वेल बनाउने घोषणा गरेका थिए। जसलाई २०८३ सालकाे दसैँमा प्रदर्शन गर्ने उनको लक्ष छ ।
यता, उनले श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्कासँग मिलेर निर्माण गरेको सिनेमा ‘बेहुली फ्रेम मेघौली’ यही दसैँको घटस्थापनाका दिन अर्थात् असोज १७ गतेदेखि प्रदर्शन हुँदैछ । उनी स्वयंको यसमा मुख्य भूमिका छ ।