karsang
Close Me

आँचलले समय मिलाउन नपाउँदा दिव्याले पाइन मौका

नायिका आँचल शर्मा तीन वटा चलचित्रको छायांकनका कारण तनावमा परेकी थिइन्। एउटै समयमा चलचित्र ‘पिताम्बर’,’दुःखी आत्मा’ र ‘जेरी अन टप’को छायांकन सुरु भएपछि उनलाई समय व्यवस्थापन गर्न समस्या भयो। जसका उनलाई यी तीन चलचित्रमध्ये कम्तिमा एउटा छाड्नै पर्ने अवस्था देखिन्थ्यो ।

अन्ततः आँचलले ‘पिताम्बर’बाट हात झिकेकी छन् । उनी स्वयंले तीन चलचित्रको छायांकन व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण भयो र समय नमिलेका कारण आफू सहमतिमै यो सिनेमाबाट अलग भएको बताएकी छन् ।

आँचलले ‘पिताम्बर’ छोड्ने निर्णय लिएसँगै चलचित्र निर्माण टिमले उनको ठाउँमा नायिका दिव्या रायमाझीलाई अनुबन्ध गरेको छ। अब दिव्याले ‘पिताम्बर’मा मुख्य अभिनेत्रीको भूमिका निभाउनेछिन् ।

निर्देशक कृषा चौलागाइँले निर्देशन गरिरहेको सिनेमाका लागि दिव्यासँग कागजी सम्झौता भएसँगै छायांकनका लागि उनी नवलपरासी पुगिसकेकी छन् ।

डेब्यु नायिकाको रुपमा चलचित्र ‘एक्टर’मा नायक प्रदीप खड्कासँग जोडी दिव्याले ‘पिताम्बर’मा समेत उनकै जोडी भएर काम गर्ने भएकी छन् । उनीहरुको पहिलो सहकार्य गरेको सिनेमा ‘एक्टर’ आगामी कात्तिक १५ (लक्ष्मीपूजा) गतेबाट प्रदर्शन हुँदैछ ।

दिव्याका लागि यो ठूलो अवसर हो, किनकि पहिलो सिनेमा रिलिज नभई र नतिजा नआउँदै अर्को चलचित्रबाट उनी प्रमुख भूमिकामा उदाउने छिन्। ‘पिताम्बर’ उनका लागि एउटा महत्त्वपूर्ण कदम हुनेछ।

स्टार अभिनेता तथा अभिनेत्रीहरुको बलियो लाइनअप भएको ‘पिताम्बर’को अन्तिम सेड्युलअन्तर्गत नवलपरासीमा छायांकन भइरहेको छ । नेपाली चलचित्र उद्योगका अधिकांश स्टारको लाइनअपले यतिबेला यो सिनेमाप्रति दर्शक तथा स्वयं चलचित्रकर्मीहरूका लागि नै कौतुहलता बनेको छ ।

चलचित्रमा प्रदीप र दिव्यासँगै दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव, गौरव विष्ट, विशाल पहारी, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतको कलाकारको अभिनय छ ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

५ करोड बजेटमा निर्माण हुने अनुमान गरिएको सिनेमाको निर्माता विशाल चौलागाईं हुन् ।