‘रंगी’बाट डेब्यू गर्दै पूर्व मिस नेपाल नम्रता श्रेष्ठ
पूर्व मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले फिल्मी करिअरको सुरुवात गर्ने भएकी छन् । २०२० मिस वर्ल्ड नेपाल बनेकी श्रेष्ठले सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’बाट ‘डेब्यू’ गर्न लागेकी हुन् ।
आगामी असोज ११ गतेदेखि काठमाडौंबाट छायांकन सुरु हुन लागेको यस चलचित्रको मुख्य नायिकामा नम्रता हालै मात्रै अनुबन्धित भएकी हुन् ।
बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्ने चलचित्रको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको नम्रताले बताइन् । स्क्रिप्ट र क्यारेक्टरप्रति देखाएको उत्साहले उनलाई नेपाली फिल्म उद्योगमा सफल बनाउन थप ऊर्जा मिल्ने विश्वास गरेकी छन् ।
कागजी सम्झौता गरेपछि पूर्व मिस नेपाल श्रेष्ठले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आएको र उक्त्त भूमिका चुनौतिपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको बताइन् । उनले भनिन्, ‘वेब सिरिजमो स्क्रिप्टमा मेरो क्यारेक्टर अलिक कन्ट्रोभर्सियल किसिमको थियो । म अलिक सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर किसिमको भएकाले विवाद आउँछ भनेर मैले काम गरिनँ ।’
यता, चलचित्रमा डेब्यू गर्न पाएकी नम्रताले आफ्नो चरित्र मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ, यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ, ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो,’ उनले भनिन् ।
सलोन बस्नेत निर्माताको भूमिकामा रहने यो चलचित्रको निर्देशन सुरेश न्यौपानेले गर्नेछन्। यसै चलचित्रमार्फत सुरेशले निर्देशनमा डेब्यू गर्दैछन्। उनले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चलचित्रमा मुख्य सहायक निर्देशकको भूमिका निभाएका थिए।
सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । सिनेमालाई सौरभ लामा छायांकन गर्ने निश्चित भइसकेको छ ।