प्रिमियरमा उत्कृष्ट चलचित्र, हलमा झुर ! सत्य बोल, दर्शकको विश्वास नगुमाऊ

नेपाली चलचित्रको मेकिङ कति कमजोर छ । यो जगजाहेर छ । नेपाली चलचित्र राम्रा बनेन् भनेर प्रश्न उठाउँदा मेकरले दिने रेडिमेड जवाफ हो, हाम्रो बजार नै सानो छ । बजार सानो भएपछि लगानी सानो हुन्छ । लगानी सानो भएपछि चलचित्र पनि त्यहीअनुसारको बन्छन् ।

तर बजार सानो भएका, लगानी सानो भएका उद्योगमा पनि राम्रा चलचित्र बनिरहेका छन् । नेपाली चलचित्र उद्योगको भन्दा पनि छोटो इतिहास भएका उद्योगमा पनि राम्रा सिनेमा बनेका छन् । बनिरहेका छन् । यसको उदाहरण दिइरहनु पर्दैन, चलचित्रप्रेमी अधिकांशलाई थाहै छ ।

नेपाली सिनेमा मेकिङमा थुप्रै कमजोरी छन् । जस्तै: विषय छनोट, कथा र स्क्रिप्ट राइटिङ, कास्टिङ, अभिनय, साउन्ड, ब्याकग्राउन्डस्कोर, गीतसंगीत, कलर आदि थुप्रै पक्ष । मार्केटिङ र रिलिजमा पनि कमजोरी छ ।

चलचित्र जस्तो बनेको छ, त्यस्तै प्रतिक्रिया पाउने हो । मेरिट र डिमेरिटका आधारमा बक्सअफिस निर्धारण हुने हो ।

तर, नेपालमा एउटा अनौठो प्रचलन छ । चलचित्र जस्तो सुकै होस्, राम्रो होस् कि नराम्रो ठिकठिकै होस् वा गज्जब राम्रो कलाकारले दिने प्रतिक्रिया सधैँ यही हो, दामी छ । गज्जब राम्रो छ । निर्देशक, कलाकारको काम राम्रो छ । हलिउड-बलिउड स्तरको चलचित्र बनेको छ ।

प्रिमियर हुनुपर्छ र निर्माणपक्षले बोलाउनु मात्रै पर्छ । कलाकार, निर्माता र निर्देशकले दिने प्रतिक्रिया यही नै हो । जुनसुकै चलचित्रको प्रिमियर होस्, आउने प्रतिक्रिया यही हो । यस्तै हो । शब्द केही तलमाथि होला तर आशय यही नै हो ।

कलाकार, निर्माता र निर्देशकको प्रतिक्रिया हेरेर चलचित्र हेर्न हलमा गयो, दर्शक हुँदैनन् । पाँच-छ जना पनि दर्शक नआएर शो क्यान्सिल भइरहेको हुन्छ ।

कस्तो खालको प्रतिक्रिया हो यो ? कलाकारले हलिउड-बलिउडस्तरको गज्जब राम्रो भनेको चलचित्र हेर्दा ‘झुर’ । कस्तो खालको टेस्ट हो कलाकारको ? कस्तो बुझाई हो ? चलचित्र नबुझेको हो कि बुझेर इमानदार प्रतिक्रिया नदिएको ?

इमानदार प्रतिक्रिया नदिनु भनेको बेईमान हुनु हो । नराम्रो चलचित्र राम्रो छ, हेर्न आउनुस् भनेर दर्शकलाई हेर्न अपिल गर्नु प्रत्यक्ष रूपमा ठगी गर्नु हो ।

साथीसंगीको चलचित्र हुन्छ, रिसाउँछन् भनेर झुट बोलेको हो भने कलाकार, निर्देशक आफैँ दर्शक नै हाम्रो भगवान् हो भन्छन् । भगवानरुपी दर्शकलाई चाहिँ हाकाहाकी ठग्ने ? झुट बोल्ने ? कुन नैतिकताले दियो दर्शकसँग झुट बोल्न ?

भोलि आफूले चलचित्र बनाउँदा साथीले पनि नराम्रो भन्दिइएला भनेर निर्देशक र निर्माता पर्म लगाउने, कलाकार निर्माता र निर्देशकले अहिले जस्तो हो त्यस्तै प्रतिक्रिया दियो भने भोलि चलचित्र खेल्न नबोलाउला भनेर झुट बोल्ने ।

दर्शकको पक्षमा चाहिँ खोइ को छ ? कसले सही सूचना दिने ? दर्शक चाहिँ सधैँ ठगिनु नै पर्ने हो ?

हरेक चलचित्रबारे कलाकार र मेकरले झुटो प्रतिक्रिया दिँदै जाने हो भने कतिन्जेल दर्शकले विश्वास गर्दिएलान् । भोलि आफ्नै चलचित्र रिलिज हुँदा कलाकार र मेकर यस्तै झुट बोल्छन् भनेर राम्रो चलचित्र बन्दा पनि दर्शक हलमा आइदिएनन् भने के हुन्छ ? त्यसैले जे हो त्यही बोल्ने गरौँ, आफ्नो बोलीको वेट राखौँ । सत्य बोल्न नडराऔँ । सत्य बोल्न नसके झुट पनि नबोलौँ । जे हो त्यही बोल्न नसक्ने नबोलौँ ।