चलचित्र ‘मेयर’मा भोला बनेका संजोग
चलचित्र ‘मेयर’बाट कलाकार संजोग रसाइलीको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ ।
दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको क्यारेक्टर पोस्टर संजोग जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो। उनी यो फिल्मका कलाकारमध्येका एक हुन् ।
निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर मार्फत संजोग ‘भोला’ पात्रको रुपमा देखिन लागेको बुझन सकिन्छ ।
चलचित्र ‘मेयर’मा भोला बनेका संजोगले यसअघि ‘म’, ‘भागवत गीता’, ‘चिसो मान्छे’, ‘प्रेमगञ्ज’, ‘पशुपतिप्रसाद–२ : भष्मेडन’ लगायत चलचित्रमा अभिनय गरिसकेका छन् ।
प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिँदै छन्। लामिछानेले मेयरको भूमिका निर्वाह गरेका छन् भने अपोजिटमा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामै देखिँदै छिन् । उनले मेयरको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।
यो चलचित्र सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन सङ्घर्षमा आधारित भएर बनेको हो । तर, चलचित्र पुरै बायोपिक नभएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा केही राम्रो काम गरेर छाड्छु भन्ने सङ्कल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र विविध अवरोधकाबीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथा देख्न पाइने बताइएको छ।
पटकथा प्रडक्शनको ब्यानरमानिर्माण भएको चलचित्रमा अर्पण थापा, अनुप बराल, दिव्य देव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ ।
चलचित्रको निर्देशक समेत रहेका खनाल कार्यकारी निर्माता पनि हुन् । शर्मिला पाण्डे र सृष्टिमा खनाल निर्माता हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहेको छ ।