karsang
Close Me

‘छक्का पञ्जा–४’को प्रदर्शन ‘छक्का पञ्जा–५’को प्रि–रिलिज हो कि वार्षिकाेत्सवको उपहार ?

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले आज (शनिबार) काठमाडौंको नयाँबानेश्वरस्थि आईएनआई सिनेमा हलमा चलचित्र ‘छक्का पञ्जा–४’ प्रदर्शन गर्यो ।

सुरुमा तीनवटा शो राखिएकोमा पछि साँझ साढे ८ बजे शो राख्यो । त्यो शो पनि हाउसफुल भएपछि ८ बजे पनि अर्को शो थप्यो ।

एकै दिन पाँचवटा शो चलायो यो टिमले ‘छक्का पञ्जा–४’को । आईएनआई हलको वार्षिक उत्सवको अवसर पारेर दीपक–दीपाको यो समूहले आज यो चलचित्र निःशुल्क देखाएको हो ।

हलको वार्षिक उत्सवको अवसर पारेर निर्माण टिमले सिनेमा देखाउँदा यसको प्रि–रिलिज पनि भयो । किनकी यही दशैँको फूलपातीको दिन ‘छक्का पञ्जा–५’ रिलिज हुँदैछ ।

त्यसैले ‘छक्का पञ्जा–४’को आजको रिलिजलाई प्रि–रिलिज पनि भन्न सकिन्छ ।

विश्वको ठूला चलचित्रले लामो ग्यापपछि सिक्वेल आउँदा अघिल्लो सिक्वेल रिलिज गर्ने गरेका छन् । यसलाई प्रि–रिलिज भनिन्छ ।

तर प्रि–रिलिज अघिल्लो सिक्वेल नहेरेका वा हेरेर पनि बिर्सिएका दर्शकलाई रि–कल गराउन प्रि–रिलिज गर्ने गरेका छन् ।

तर, ‘छक्का पञ्जा’ सिक्वेल नभएर सिरिज हो । यसका हरेक सिरिजमा फरक फरक विषय उठान गर्दै आएको छ ।

‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरेका थिए । त्यसअघिका तीनवटै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । ‘छक्का पञ्जा–५’लाई पनि दीपाश्री निरौलाले नै निर्देशन गरेकी छन् ।

यो चलचित्रमा दीपक राज गिरी र वर्षा सिवाकोटी, केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको छ ।

सिनेमा दशैंको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् ।

सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि अभिनेता तेज गिरी र आर्यन सिग्देलको पनि ‘छक्का पञ्जा ५’मा अभिनयको खुलिसकेको छ ।

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईंको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ ।

सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गर्दैछन् ।