‘रावायण’ नखेलेर दोस्रो ‘छड्के’को अवस्थाबाट जोगिएका अनमोल

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘रावायण’ले अपेक्षित बक्सअफिस कलेक्सन गर्न सकेन । पोजेटिभभन्दा पनि नेगेटिभ वर्ड अफ माउथका कारण यो चलचित्रले सोचेजस्तो बक्सअफिस कलेक्सन गर्न सकेन ।
यो चलचित्रको कास्टिङ, पहिरन र भाषालाई लिएर नकारात्मक टिकाटिप्पणी भयो । विशेषगरी चलचित्रका मुख्य पात्र पल शाहले लगाएको दारी, जुंगा र विगलाई लिएर पोस्टर रिलिज भएकै दिनदेखि टिप्पणी सुरु भएको थियो । चलचित्र रिलिज भएपछि यो क्रम झन बढेको थियो ।
झर्नै लागेको जस्तो देखिने दारी, जुंगा र विगले नै चलचित्रको हाइप बन्न सकेको थिएन । परबाटै देख्दै प्रष्ट नक्कली देखिने दारी, जुंगा र विगलाई ‘रत्नपार्क’बाट उठाएर ल्याएको भन्ने टिप्पणी भएको थियो ।
कतिले त ‘मकैको घोगाको जुंगा टाँसेजस्तो जुंगा’ भन्दै कमेन्ट गरेका थिए । यी र यस्तै विभिन्न कारणले गर्दा यो चलचित्रले बक्सअफिसमा धेरै कलेक्सन गर्न सकेन ।
यो त्यही चलचित्र हो, जुन चलचित्रको छायांकनमा अन्तिम समयमा आएर अनमोल केसी जान नमानेको भन्दै निर्माणपक्षले दिएको उजुरीका आधारमा प्रहरीले नायक अनमोल केसीलाई पक्राउ गरेको थियो ।
यदि, यो चलचित्रमा अनमोलले काम गरेको भए उनको करिअरमा ‘फल्प सिनेमा’को सूचीमा यो चलचित्र पनि थपिने रहेछ । ‘छड्के २’ पूर्णतया असफल भएपछि अनमोलले यो चलचित्रले आफूलाई ठूलो पाठ सिकाएको भन्दै आगामी दिन कथा र टिम सेलेक्सनमा ध्यान दिने भन्दै लामो स्टाटस लेखेका थिए । नभन्दै यो सिनेमा छोडेर उनले राम्रै निर्णय गरेका रहेछन् ।
अनमोललाई आपराधिक विश्वासघात गरेको कसुरमा १२ असोज २०८० मा पक्राउ गरिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको साँगाबाट अनमोललाई पक्राउ गरेको थियो ।
चलचित्र ‘रावायण’का लागि अनमोलले अग्रिम १० लाख रुपैयाँ लिएको तर पूर्वनिर्धारित तालिका अनुसार चलचित्र छायांकनका लागि अनमोल तयार नभएपछि निर्माण पक्षले उनीसँग पैसा फिर्ता मागेको थियो ।
अनमोलले स्क्रिप्ट हेरेर अहिलेको अवस्था आउने पहिला नै पूर्वानुमान गरेका रहेछन् भन्ने अहिलेको ‘रावायण’को अहिलेको बजार र प्रतिक्रियाले पुष्टि गरेको छ । जुन कुरा पलले पहिचान गर्न सकेनन् ।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् ।
चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतको अभिनय छ ।
चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
यो पनि पढ्नुहोस्
यस कारण चलेन ‘रावायण’, पढ्नुस् यी ६ कारण