karsang
Close Me

छायांकनमा निस्कियो ‘होस्टेल ३’

काठमाडौं । चर्चित नेपाली चलचित्र शृङ्खला ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’को छायाकंन सुरु भएको छ।

आइतबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायाकंन सुरु गरिएको चलचित्रको पहिलो शट पारस बम र सिम्रन पन्तले दिएका थिए।

चलचित्रको छायाकंन दुई चरणमा गरिने भएको छ । २५ दिनसम्म चल्ने पहिलो चरणको छायाकंन काठमाडौंको बोडेमा सुरु गरिने र दोस्रो चरणको तिहारपछि सुरु गरिने निर्माण पक्षले बताएको छ ।

चलचित्र ‘होस्टेल ३’मा मुख्य भूमिकामा पारस बम, सिम्रन पन्त, रिहान गिरी, आशिष घिमिरे, हेना नगरकोटी, उमर खान, समा पराजुली, र सन्तोष बानियाँलगायत कलाकारको अभिनय देख्न सकिनेछ।

यो चलचित्रमा अभिनेता आर्यन सिग्देलले होस्टेल वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिकामा अभिनय गर्नेछिन्।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली सिनेमा उद्योगमा स्थापित गर्दै आएको छ। यसअघि ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई दर्शकसामु ल्याएको थियो।

चलचित्रको कथा निर्देशक सशान कँडेलले लेखेका हुन् भने स्क्रिप्ट माधव शर्माले तयार पारेका हुन्। चलचित्रको डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्।

निर्माता शङ्कर कोइराला कार्यकारी रहेको चलचित्रका निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

आउँदो फागुन १६ गतेलाई रिलिज मिति तोकिएको चलचित्रको वितरण अधिकार जापान, मध्यपूर्व, र मलेसियामा बिक्री भइसकेको छ।

‘होस्टेल ३’ सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण भइरहेको छ।