karsang
Close Me

सौगात मल्ल मुख्य भूमिकामा भित्रिएसँगै ‘कल्ली’बाट बाहिरिए पल शाह

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई चित्रित गर्दै गत साउनमा चलचित्र ‘कल्ली’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो ।

रेड वर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रमा अर्का अभिनेता सौगात मल्ल भित्रिएका छन् । यसै साता उनीसँग सिनेमाका निर्माता किरण नेपालीले कागजी सम्झौता गरेका हुन् ।

बुझिएअनुसार, सिनेमामा सौगात मुख्य भूमिकामा अनुबन्धित भएसँगै अभिनेता पल शाह चलचित्रबाट बाहिरिएका छन् । तर, निर्माण पक्षले यस विषयका कुनै पनि जानकारी गराएका छैनन् ।

आर्ट खबरसँग विशेष श्रोतले भन्यो, ‘निर्माता किरण नेपालीले ‘रावायण’ मा पल शाहको भूमिकालाई लिएर उठेका विभिन्न आलोचना र विवादहरूले उनलाई ‘कल्ली’ बाट बाहिर निकालिएको हो ।’

श्रोत भन्छ, ‘नेगेटिभ वर्ड अफ माउथका कारण ‘रावायण’ले अपेक्षित बक्सअफिस कलेक्सन गर्न सकेन, चलचित्रका मुख्य पात्र पल शाहले लगाएको दारी, जुँगा र विगलाई लिएर पोस्टर रिलिज भएकै दिनदेखि टिप्पणी सुरु भएको थियो । चलचित्र रिलिज भएपछि यो क्रम झन् बढ्यो सँगै यो सिनेमा पनि उनलाई काष्ट गरिएको छ, अब निर्माताले देश-विदेशमा चलचित्र बिकाउन नसक्ने भए साथै रावायण रिलिज भएपछि पलमाथि भएका विभिन्न टिक्का टिप्पणीका कारण देखेपछि उनलाई निकालेको रहेछ ।’

निर्माता किरण नेपालीले यसबारे कुनै औपचारिक जानकारी दिएका छैनन् । तर, उनले आफ्नो सामाजिक सञ्जालबाट ‘कल्ली’को पोस्टर हटाएको देखिन्छ, जसले यस हल्लालाई थप बल दिएको छ ।

हामीले पल शाहलाई चलचित्रबाट निकालिएको हो त भन्ने आशयले निर्माता नेपालीलाई सम्पर्क गर्दा उनले फोन रिसिव गरेनन् ।

सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्दैछन्, जसले यसअघि ‘बुलाकी’ निर्देशन गरेका थिए । ‘कल्ली’को पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् भने सुरज आचार्य यसका निर्माण प्रमुख हुन् ।

चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा हुने र तिहारपछि छायांकन सुरु गरिने योजना रहेको निर्देशक सुनारले बताएका छन् ।

छायाकंन सुरुवात नगर्दै प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर चैत्र २९ गतेबाट रिलिज गर्ने योजना छ ।

यो पनि पढ्नुहोस्

पारि ‘कल्कि’ वारि ‘कल्ली’, नाममा दर्शक झुक्याउने दाउ त होइन ?

यो पनि पढ्नुहोस्

त्रिपक्षीय भिडन्तबाट पछि हट्यो ‘मायावी’