karsang
Close Me

त्रिपक्षीय भिडन्तबाट पछि हट्यो ‘मायावी’

काठमाडौं । कात्तिक १५ गते लक्ष्मी पूजाको अवसरमा प्रदर्शन हुने भनिएको चलचित्र ‘मायावी’को प्रदर्शन मिति पछि सरेको छ । मायावी पछि हटेसँगै कात्तिक १५ मा दुई चलचित्र ‘एक्टर: टेक वान’ र ‘पूर्ण बहादुरको सारङ्गी’ एकै दिन भिड्ने भएका छन् । यसअघि सोही दिन आउने भनिएको ‘मायावी’ अब पुस २६ गतेबाट प्रदर्शन हुने भएको छ ।

‘हामीले तीन तीन वटा सिनेमा जुधाउँदा सबैलाई असर पर्छ सोही कुरालाई ध्यानमा राख्दै मायावीलाई पुस २६ गते रिलिज गर्ने तयारी गरेका छौँ,’ वितरक करण श्रेष्ठले भने, ‘यो हाम्रो आधिकारिक प्रदर्शन मिति त हैन केही समयपछि नयाँ पोस्टर सार्वजनिक गरेर औपचारिक घोषणा गर्नेछौँ ।’

दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’को मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् ।

क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही सिनेमाबाट डेब्यु गर्दैछन् ।

यता, राजन भुसालको निर्देशनमा बनेको चलचित्र ‘एक्टर’मा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला र सुशील सिटौलाको मुख्य भूमिका छ ।

चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह-निर्माता रहेको सिनेमाको क्रेयटिभ प्रोडुसर मोती कार्की र लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।

त्यसैगरी, सरोज पौडेल निर्देशित ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले एक साधारण व्यक्तिको सांगीतिक यात्रा र समाजसँगको संघर्षलाई चित्रण गर्छ ।

दुवै चलचित्रले फरक-फरक विषयलाई समेट्ने भए पनि लक्ष्मी पूजाको दिन यी दुई चलचित्रबीचको प्रतिस्पर्धा चर्को हुने अनुमान गरिएको छ ।

यसैबीच, पुस २६ मा प्रदर्शन हुने भनिएको ‘मायावी’ याम शेर्पाले निर्देशन गरेको ‘कार्साङ’सँग सोही मितिमा आउने पक्का भएको छ। कार्साङमा दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ, प्रेम लोप्चनलगायत कलाकारको अभिनय रहेको छ ।

दर्शकले अब कात्तिक १५ मा एक्टर र पूर्ण बहादुरको सारङ्गीको रस्साकस्सी हेर्न पाउने छन् भने पुस २६ मा मायावी र कार्साङ बीचको प्रतिस्पर्धा हुने निश्चित छ ।