‘छक्का पञ्जा–५’ हेर्नभन्दा यसको प्रचारको कार्यक्रम हेर्न चार गुणा महंगो ?
काठमाडौं । असोज २४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा–५’ यतिबेला प्रचारप्रसारमा छ । गीत र सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा रहेको यो चलचित्रको प्रचार केही फरक तरिकाबाट हुने भएको छ ।
‘द बिगेस्ट रोस्टिङ ब्याटल’ असोज २० गते कमलादीस्थित नाचघरमा हुँदैछ । यसको मुख्य उद्धेश्य नै ‘छक्का पञ्जा–५’को प्रचार गर्नु हो ।
ब्याटल कमेडी च्याम्पियनको टिम र ‘छक्का पञ्जा–५’को टिमबीच ब्याटल हुन लागेको हो । यो ब्याटलको आयोजक कमेडी च्याम्पियन शो हो ।
ब्याटलमा पहिला कमेडी च्याम्पियनको टिमले छक्का पञ्जाको टिमलाई रोस्ट गर्नेछ । अन्तिममा चलचित्रको टिमले कमेडी च्याम्पियनको टिमलाई रोस्ट गर्नेछ ।
कार्यक्रममा जान टिकट काट्नुपर्नेछ । टिकट शुल्क ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्मको राखिएको छ । नाच घरको दर्शक सिट क्षमता साढे सात सय छ ।
रमाइलो पक्ष त के छ भने चलचित्र ‘छक्का पञ्जा–५’ हेर्नलाई हलमा टिकट चार÷साढे चार सय पर्छ । तर यही चलचित्रको प्रचारका लागि गरिएको कार्यक्रमको टिकट शुल्क भने पाँच सयदेखि टिकटको झण्डै चार गुणासम्म मंहगो पर्नेछ ।
दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र असोज २४ गते रिलिज हुँदैछ । यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटीलगायत मुख्य भूमिकामा छन् ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।
अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ ।
सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गर्दैछन् ।