किन ‘सानो संसार’लाई अर्को ‘बोक्सीको घर’ भन्दै हिँडिरहेका छन् अर्जुन कुमार ?
काठमाडौं । चलचित्र ‘सानो संसार’ असोज ११ गतेबाट प्रदर्शनमा आउँदैछ । अजुर्न कुमारले निर्माण गरेको यो चलचित्रमा यदि निर्माणपक्षले लुकाएको छैन भने बजारमा चल्तीको फेस कोही छैन ।
त्यसैले अर्जुनकुमार यतिबेला आफैँ प्रचारका लागि सञ्चारकर्मीसँग हारगुहार गरिरहेका छन् । सञ्चारकर्मीलाई फोन गरेर समाचार, फिचर तथा अन्तर्वार्ताका लागि आग्रह गरिरहेका छन् । त्यसैले बजारमा चलेको अनुहार नभए पनि उनको चलचित्रको समाचार आइरहेका छन् । मिडिया कभरेज गज्जवले भइरहेको छ ।
त्यसो त उनको चलचित्रको ट्रेलर नै धेरै पत्रकार र चलचित्रकर्मीको फेसबुक वालमा देखियो । उनले धेरैलाई रिक्वेस्ट गरेरै ट्रेलर सेयर गर्न लगाए । जे होस्, उनको यो चलचित्र प्रचारको शैली गज्जवको छ ।
जसरी हुन्छ, आफ्नो चलचित्रको प्रचार त गर्ने हो । जतिसक्दो धेरैभन्दा धेरै दर्शकमाझ आफ्नो सिनेमा यो मितिमा आउँदैछ भनेर खबर पुर्याउने हो । सके कन्टेनले उत्सुकता जगाउने हो । होइन भने डेटबारे जानकारी मात्रै दिने हो ।
तर कन्टेनले उत्सुकता जगाउनुभन्दा विषय सकेसम्म लुकाउने प्रचलनले नेपाली चलचित्रकर्मीलाई गाँजेको छ । कन्टेन जति लुकायो त्यति चलचित्रप्रति उत्सुकता पैदा हुन्छ भन्ने भ्रमको पर्दा च्यातिन समय लाग्छ ।
खैर, फर्कौं अजुन कुमार र उनको चलचित्र ‘सानो संसार’तर्फ । निम्न मध्यम बर्गीय परिवारको संघर्षको कथा चलचित्रले भन्ने ट्रेलरले देखाएको छ । अध्ययन, वैदेशिक रोजगारी, वैदेशिक अध्ययनसँगै रोजगारी र अहिलेको युवापुस्ताको चाह ‘सानो संसार’को मुख्य कथा भएको ट्रेलरले देखाएको छ ।
सिनेमा कस्तो छ, त्यो रिलिजपछि थाहा हुने पक्ष हो । तर उनले यसपटक पूरै नयाँ टिमसँग काम गरिरहेका छन् । लेखक, निर्देशक र कलाकार सबै नयाँ लिएर काम गरिरहेका छन् । उनले जसरी नयाँ निर्देशक र कलाकारलाई भरोसा गरेका छन् । उनीहरूले अर्जुन कुमारको विश्वासलाई कति फुलफिल गराउँछन्, त्यो त पछि नै थाहा हुनेछ ।
तर, स्वयं अर्जुन कुमार भने पूर्ण विश्वस्त छन् । उनी आफू नजिकका सञ्चारकर्मी तथा चलचित्रकर्मीसँग आफ्नो चलचित्र
‘सानो संसार’ अर्को ‘बोक्सीको घर’ हो भन्नै हिँडिरहेका छन् ।
अर्थात् ‘बोक्सीको घर’ जस्तै राम्रो छ । ‘बोक्सीको घर’ जस्तै दर्शकले हेर्छन् । ‘बोक्सीको घर’ले जस्तै १० करोडभन्दा माथि कमाउँछ । अर्जुनजी आत्मविश्वास हुनु त राम्रो हो । तर अति धेरै आत्मविश्वास हुँदा भोलि चलचित्रले अपेक्षित बक्सअफिस कलेक्सन गरेन भने त डिप्रेसनमै जाने तहको तनाव झेल्नु पर्ला नि । चलचित्र प्रोडक्सनमा हुँदा यो वा ऊ सँग तुलना गर्नुभन्दा पनि राम्रो काम निकाल्न केन्द्रित हुने पो हो कि ? मेकरले भन्दा पनि दर्शकले चाहिँ भनेको पो राम्रो होला होइन र ?
सानो बजेटमा बनेको चलचित्र हो यो । नयाँ निर्देशक, नयाँ कलाकार भएकाले पारिश्रमिकमा उनको धेरै खर्च भएको छैन । त्यसैले सानो बजेटमा आउन लागेको चलचित्र भएकाले पनि अर्जुन कुमार ढुक्क छन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ ।
सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।
प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।